मलंगवा, चैत २२ – माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत सर्लाहीमा आज छैठौं दिन पनि २ जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।
जिल्लाको दक्षिण–पश्चिम भेगस्थित जनता नमूना माध्यमिक विद्यालय बलरा नगरपालिका ८ गहडीया डुमरिया परीक्षा केन्द्रमा निरीक्षकद्वय सन्जय कुमार यादव र रमेश रामलाई जिम्मेवारीबाट हटाएर उनीहरुको स्थानमा नयाँ निरीक्षक खटाइएको हो । आज भएको ऐच्छिक प्रथम विषयको परीक्षामा आफू खटिएको परीक्षा कोठाभित्र मर्यादा कायम गर्न नसकेकाले उनीहरु दुवै जनालाई कारवाहीस्वरुप निरीक्षकको जिम्मेवारीबाट हटाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले बताए ।
कुशवाहाले आज पनि जिल्लाका ३८ वटै परीक्षा केन्द्रमा शान्तपूर्वक ढंगले परीक्षा सम्पन्न भएको जानकारी दिएका छन् । आज जिल्लाभर नियमिततर्फ १० हजार ५८३ र ग्रेडवृद्धितर्फ १४० जना परीक्षार्थी परीक्षामा सामेल भएका छन् । फाराम भरेकामध्ये १७३ जना परीक्षार्थी भने आजको परीक्षामा अनुपस्थित रहे ।
एसइई अन्तर्गत साधारणतर्फका परीक्षार्थीले अब भोली अन्तिमदिन ऐच्छिक द्धितीय विषयको परीक्षा दिने छन् । प्राविधिक धारतर्फका विद्यार्थीको परीक्षा भने २७ गतेसम्म चल्ने छ ।
सर्लाहीमा प्राविधिकधारतर्फका विद्यालय ११ वटा रहेका छन् । ती विद्यालयको परीक्षा केन्द्र (सेन्टर) परेको बाहेक अन्य परीक्षा केन्द्रमा भोलीबाट एसइई सम्पन्न हुने छ ।