हरिवनमा रक्दान गर्दै सहकारीकर्मी लगायत ।
हरिवन, चैत २० – “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने मूल नारासहित आज सर्लाहीमा पनि विविध कार्यक्रम गरी ६७ औँ सहकारी दिवस मनाइएको छ ।
दिवसका अवसरमा जिल्लाभर विभिन्न किसिमका कार्यक्रमहरु भएका हुन् । हरिवन नगर सहकारी सञ्जाल आयोजनामा सगुन बचत तथा ऋण सहकारी संस्थाको परिसरमा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् ।
सञ्जालकै आयोजनामा बिहान हरिवनका सहकारीकर्मी र पत्रकारबीच सनराईज आवासिय विद्यालयको खेल मैदानमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । खेल एक-एक गोलको बराबरीमा सम्पन्न भएको हो । पत्रकारकाे तर्फबाट रविन घिमिरे र सहकारीकर्मीकाे तर्फबाट रवि थापाले गाेल गरेकाे खेलका रेफ्रि सुमन तिलक सिंदालीले जानकारी दिए ।
सगुनका प्रबन्धक रविन्द्र रानाका अनुसार सञ्जालका अध्यक्ष रामप्रसाद घिमिरेकाे अध्यक्षता एवं हरिवन-११ का वडाध्यक्ष शेख मेहबुब रेजाकाे प्रमुख आतिथ्यतामा आयाेजित फुटबल कार्यक्रममा ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख शाखा अधिकृत राजकुमार थापा, सगुनका अध्यक्ष केशव ढकाल, समृद्धी सहकारीका अध्यक्ष अर्जुन पन्त, नेेपाली कांग्रेसका नेता विनाेद कार्की, नेकपा एमाले नेता राजकुमार उप्रेती, समाजसेवी भरत कुमार कार्की सहित विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यस्तै, सहकारी नगर सञ्जालले सगुनको सभा हलमा अन्तरक्रिया कार्यक्रम गरेको छ । दिवसका अवसरमा सगुनको तर्फबाट हरिवन-१ मा रहेको मानव सेवाआश्रममा बेलुकाको भोजन गराइएको संस्थाका अध्यक्ष केशव ढकालले जानकारी दिए ।
यसै दिवसका अवसरमा ईश्वरपुर नगरपालिका-६ बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आज बिहान सचिव बेचुप्रसाद तिमल्सिनाको नेतृत्वमा मानव सेवाश्रम हरिवनमा पुगेर त्यहाँ आश्रीत व्यक्तिहरुलाई एक छाक भोजन गराइएको संस्थाका व्यवस्थापक विनोदकुमार थापाले बताए ।
त्यसैगरी मलंगवा नगरपालिकाको सहकारी शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नगरपालिकाको सभा हलमा ६७ औँ सहकारी दिवस मनाइएको छ । लालबन्दी-१७ रानिगन्जस्थित जनहित बचत तथा ऋण सहकारी संस्थामा नगरभित्रका अन्य केही सहकारी समेतको सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको व्यवस्थापक प्रदीप तिमल्सिनाले बताए ।
जिल्लाका अन्य विभिन्न सहकारी संघसंस्थाले पनि अन्तरक्रिया, र्यालीसहितका कार्यक्रम गरेर आज सहकारी दिवस मनाएका छन् ।