logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रामपुरमा सुरु भयो लोकतान्त्रिक गोल्डकप, महोत्तरीको सानदार सुरुवात (तस्बीरहरु)


  • उज्यालो अभियान

रामपुर, १८ चैत – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा हिजो (शनिबार) बाट मधेश प्रदेश स्तरीय प्रथम लोकतान्त्रिक गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

रामपुरस्थित फूलजोर खोला किनारमा रहेको मैदानमा आयोजित प्रतियोगिताको प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उद्घाटन गरेका छन् । सांसद भण्डारीले रामपुरको फुटबल मैदानको स्तरोन्नतिका लागि आफूले संसदमा आवाज उठाउने वचन दिएका छन् ।

 

कांग्रेस नेता भण्डारीले पछिल्लो समय राष्ट्र र राष्ट्रियतालाई मजबुत पार्ने नायकका रुपमा रहेका फुटबलसहित अन्य बिधाका खेलाडी पेट पाल्नकै लागि विदेश पलायन हुन बाध्य हुनु दुःखद भएको बताए ।

 

आयोजक सर्लाही लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष रोजित केसीको अध्यक्षता तथा कांग्रेस नेता भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा मधेश प्रदेश सभा सदस्य कौशलकिशोर राय, पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियार, अखिल नेपाल फुटबल संघ (एन्फा) का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, कांग्रेसका पूर्व जिल्ला सभापति लक्ष्मण राय, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, पूर्व जिल्ला उपसभापति विनोद खनाल, पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, कांग्रेस मधेश प्रदेश कार्य समितिकी सदस्य शर्मिला थापा, ईश्वरपुर नगरपालिका ८ का वडाध्यक्ष श्यामबाबु थापालगायतले मन्तव्य राखेका छन् ।

चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा ८ वटा क्लबले सहभागिता जनाएका आयोजक लोकतान्त्रिक खेलकुद संघका जिल्ला सचिव भिमबहादुर खड्काले बताए । प्रतियोगितामा आयोजक सर्लाहीसहित सी स्टार सी चपुर, नव जनजागृति युवा क्लब सिमरा, वीरगन्ज युनाइटेड, महोत्तरीको जनसेवी युवा क्लब, बेंगखाडी युवा क्लब तथा बर्दिवास नगरपालिका र सिरहा ११ ले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक लोकतान्त्रिक खेलकुद संघ सर्लाहीका अध्यक्ष रोजित केसीले जानकारी दिए । प्रतियोगितामा सम्पूर्ण खेल तीन जना महिला रेफ्रीले खेलाउने छन् । फिफा महिला रेफ्री राधिका शाक्य, माया लामा र उमा श्रेष्ठले खेल खेलाउने आयोजकले जनायो ।

यसैबीच, प्रतियोगिताको उद्घाटन खेलमा हिजो जनसेवी युवा क्लब महोत्तरीले सिरहा–११ लाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । महोत्तरीले सिरहालाई १०–० गोलले पराजित गरेको हो ।

जनसेवीको जितमा विदेशी खेलाडी फोडे फोफोना एक्लैले ८ गोल गरे । त्यस्तै श्यामबाबु थापा र सन्जिव कार्कीले एक–एक गोल गरे । खेलको ३६ सेकेण्डमै गोल गरेका फोफोनाले त्यसपछि ३ मिनेट, १२ मिनेट, २१ मिनेट, ४७ मिनेट, ६७ मिनेट, ६८ मिनेट र ७० मिनेटमा गरी ८ गोल गरे । श्यामबाबु थापाले ६३ र सन्जिव कार्कीले ६५ मिनेटमा एक–एक गोल गरे ।

प्रतियोगितामा सेमिफाइनल र फाइनल खेल ८० मिनेट र त्यसअघिका सबै खेल ७० मिनेटको खेलाइने सर्लाहीका स्थानीय रेफ्री वुद्धिमान तामाङले जनाए ।