एसइइ दिँदै गरेका विद्यार्थी । (तस्बीर : उज्यालो अभियान)
मलंगवा, १८ चैत – सर्लाहीमा आज भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् ।
जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइई अन्तर्गत आज तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा दिइरहेका थिए ।
महतोलाई परीक्षा अनुगमन समितिले भिनाजुको नाममा परीक्षा दिइरहेका बेला पक्राउ गरेको हो । कृष्णका भिनाजु राकेशकुमार जनकल्याण माध्यमिक विद्यालय धनकौल गाउँपालिका १ धोबिनियाँका विद्यार्थी हुन् ।
राकेशकुमारको अहिलेसम्मका सम्पूर्ण परीक्षा रद्ध गरिएको र अब अन्य विषयको परीक्षा समेत दिन नपाउने शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी बताए ।
नक्कली परीक्षार्थी कृष्ण महतोलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा हिरासतमा राखिएको छ । महतोविरुद्ध कानून बमोजिम मुद्दा चल्ने सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले उज्यालो अभियानसँग बताए ।