लालबन्दीस्थित जानकी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसइइ दिन आइपुगेका विद्यार्थी ।
लालबन्दी, चैत १५ – सर्लाहीसहित देशैभर आजबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु भएको छ ।
पहिलो दिन आज परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिन सुरु गरेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म संचालन हुने छ ।
शिक्षा विकास तथा समन्वय इकाइ (साबिकको जिल्ला शिक्षा कार्यालय) मलंगवाका निमित्त प्रमुख रामवृक्ष महतोका अनुसार एसइइमा सर्लाहीबाट ६ हजार ७८३ छात्रा र चार हजार ११३ छात्र गरी जम्मा १० हजार ८९६ परीक्षार्थीले फर्म भरेका छन् ।
परीक्षा संचालनका लागि जिल्लाभर ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसइइ संचालनका लागि यसअघि नै सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका र आवश्यक सामग्री पुर्याइसकिएको थियो । नजिकको प्रहरी चौकीमा लगेर राखिएको प्रश्नपत्र प्रत्येक दिन परीक्षा सुरु हुनु केही समयअघि मात्रै परीक्षा केन्द्रमा पुर्याइने छ ।
एसइइ संचालनका लागि जिल्लामा ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरीक्षक, १०३ जना परीक्षा सहायक र २२० जना विद्यालय सहयोगी गरी एक हजार १६ जना जनशक्ति परिचालन भएका छन् ।
परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन आवश्यक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलाले बताए । परीक्षाको अनुगमनका लागि सीडीओ र सहायक सीडीओ नेतृत्वको दुईवटा बेग्लाबेग्लै टोली अनुगमनमा निस्किएको जिल्ला प्रशासन कार्यालय मलंंगवाले जनाएको छ ।
यसैबीच, राष्ट्रिय परीक्षा बोर्डका अनुसार आउँदो २७ गतेसम्म संचालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर दुईं हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक÷एक तथा सबैभन्दा बढी काठमाण्डौमा एक सय २७ वटा परीक्षा केन्द्र छन् ।
यसवर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसपटक एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरेका छन् । यसै वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली पनि लागू हुँदैछ । जसमा कक्षा ११ मा भर्ना हुनका लागि सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्छ । सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन ।
दुईं विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईंभन्दा बढी एनजी आए अर्काे वर्ष मात्रै ती विषयको परीक्षा दिनुपर्नेछ ।
यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर न्यूनतम ३५ प्रतिशत अङ्क नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो ।
२०७६ देखि विद्यालय तह कक्षा १ देखि १२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्याङ्कनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो ।