नवलपुर, १५ चैत – लालबन्दी नगरपालिका–१, नवलपुरमा आजबाट ऐतिहासिक देविथान धार्मिक तथा साँस्कृतिक महामहोत्सव एवं श्रीमद् भागवत धन धान्याचल नवाह विराट ज्ञान महायज्ञ सुरु भएको छ ।
स्थानीय देविथान मन्दिरमा धर्मशाला निर्माण कार्य पूरा गर्ने एवं सामुदायिक भवन निर्माण सहयोगार्थ नवाह विराट ज्ञान महायज्ञ आयोजना गरिएको हो । चैत २५ गतेसम्म संचालन हुने महायज्ञको आज प्रमुख अतिथि प्रदेश सभा सदस्य बेची लुंगेली र विशिष्ठ अतिथि निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, वडाध्यक्ष हरिबहादुर भट्टराईलगायत भएर उद्घाटन गरेका छन् ।
उद्घाटनकै अवसरमा आज एक हजार भन्दा बढी मानिसको उपस्थितिमा भव्य कलश यात्रा निकालिएको छ । देविथान मन्दिर संचालन तथा व्यवस्थापन समिति र मानव सेवा फाउण्डेसन नेपालको सहकार्यमा आयोजित महायज्ञमा विश्व विख्यात कचावाचक वालयोगेश्वरले प्रवचन दिनुहुने बताइएको छ ।
महायज्ञलाई भव्य बनाउन नवलपुरका स्थानीय एक जुट भएर लागिपरेका छन् । आज पहिलो दिन अहिले साँझ भइरहेको सन्ध्या आरतीमा स्थानीयको भव्य उपस्थिति देखिन्छ ।