फूलजोर, ०९ चैत – सर्लाहीका माछापालक किसानले शुक्रबार बिहान फूलजोर चोकस्थित पूर्व पश्चिम राजमार्ग (हाइवे) मा माछा फालेर प्रदर्शन गरेका छन् ।
एक्कासी बढाइएको विद्युत् महशुल फिर्ता गरी पहिलेकै महशुल कायम गर्न माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकाका किसानले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमै माछा फालेर केहीबेर नाराबाजीसहित चक्काजाम समेत गरे ।
माछापालक किसान ईश्वरपुर नगरपालिका ३ का रामनारायण सहनीले अहिले बढाएको विद्युत् महशुल अनुसार माछापालन गर्दा आफूहरुलाई टिक्नै गाह्रो पर्ने दुःखेसो पोखे । उनले विद्युत् महशुल बुझाउन नसकेर व्यवसाय नै त्याग्नुपर्ने अवस्था आएपछि सडकमा उत्रिएको बताए ।
भक्तिपुरकै किसान लक्ष्मीप्रसाद लामिछानेले यसअघि माछापालनका लागि पोखरीमा मोटर चलाउँदा प्रति युनिट तीन रुपियाँ विद्युत् महशुल तिर्दै आइरहेकामा विगत चार/पाँच महिनादेखि महशुल बढाएर प्रति युनिट १२ रुपियाँ पुयाइएको बताए । “सरकारले हामीलाई पोखरी खन्नका लागि १० प्रतिसत अनुदान दिएर माछापालनका गर्न पोत्साहित गर्यो,” लामिछानेले भने, “अहिले फेरि यही सरकारले विद्युत् महशुल बढाएर तीन रुपियाँबाट १२ रुपियाँ पुर्याएको छ, यसैकै विरोधमा हामी सडकमा आएका हौँ ।”
आन्दोलित माछापालक किसानले विद्युत्को पुरानो महशुल कायम गर्न माग गरेका छन् । किसानले भारतीय माछाका कारण आफूहरुले उत्पादन गरेको माछाले भाउ नै नपाइरहेको अवस्थामा चर्को विद्युत् महशुल लिँदा व्यवसायमा टिक्नै मुस्किल परेको गुनासो गरेका छन् ।
माछापालन किसानसँगै प्रदर्शनमा उत्रिएका ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले आफ्नै ठाउँमा माछापालन गरेर आयआर्जनमा लागेका किसानलाई विद्युत् महशुल वृद्धि गरेर अन्याय गरिएको बताए । “स्वदेशमै व्यवसाय गर्छु भन्ने युवा तथा किसानलाई विद्युत् महशुल बढाएर हदोत्साहित गर्ने काम गर्नु गलत हो,” नगरप्रमुख आचार्यले भने “यो नीतिले युवालाई अझ विदेशिन बाध्य बनाउँछ ।”
मेयर आचार्यले माछापालक किसानको माग सम्वोधनका लागि आफू सिंहदरबारमै पुगेर लम्पसार पर्न समेत तयार रहेको बताए ।
नेपाल विद्युत प्राधिकरणको लालबन्दी वितरण केन्द्रले कृषि मिटर राख्दै आएका माछापालक किसानलाई गएको साउनदेखि उद्योग अन्तर्गत राखेर विद्युत महशुल उठाउँदै आएको छ ।
लालबन्दी वितरण केन्द्रका प्रमुख इन्जिनियर त्रिभुवन यादवले माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न नपाइने बताए । “विद्युत् महशुल सङ्कलन विनियमावली २०७८ बमोजिम माछापालनका लागि सिँचाई मिटरको प्रयोग गर्न पाइँदैन,” वितरण केन्द्र प्रमुख यादवले उज्यालो अभियानसँग भने, “माछापालन व्यवसायका लागि भनेर बेग्लै मिटर दिने व्यवस्था पनि छैन् त्यसैले हामीले अहिले माछापालक किसानलाई घरेलु कार्यालयबाट कागजात लिएर आएपछि ग्राहस्थ मिटर दिइरहेका छौँ, उहाँहरुले पाउनुभएको कृषि मिटर होईन ।”
इन्जिनियर यादवले सरकारले माछापालनलाई कृषि अन्तर्गत राखेपनि विद्युत प्राधिकरणको नियमावलीमा त्यस्तो उल्लेख नरहेको बताए ।
प्राधिकरणले कृषि मिटरको महशुल प्रति युनिट दुई रपियाँ २५ पैसा लिँदै आएको छ । माछापालक किसानले माछापालनका लागि प्रयोग भएको मिटरको पनि सोही अनुसार महशुल लिनुपर्ने माग राखेर आन्दोलन सुरु गरेका हुन् ।
माछापालक किसानको प्रदर्शनमा ईश्वरपुरका नगरप्रमुख आचार्य, पूर्व नगरप्रमुख मनोजकुमार देवकोटा, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ र विभिन्न राजनीतिक दलका नेताहरु समेत सहभागी भएका छन् ।