लालबन्दी, ०७ चैत – ठगी गरेको आरोपमा प्रहरीले ‘एसपी गौरव’ भनिने शंकर पहाडीलाई आज बिहान लालबन्दीबाट पक्राउ गरेको छ ।
सिन्धुलीको तिनपाटन गाउँपालिका–१० घर भई केही समयदेखि लालबन्दीमा बसोवास गर्दै आएका पहाडी कमलामाई अनलाईनको संचालक तथा राष्ट्रिय समाचार समितिको सर्लाही समाचारदाता हुन् । ३२ वर्षीय पहाडीलाई इलाका प्रहरी कार्यालय हरिवनको टोलीले लालबन्दी बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
पहाडीले २०७४ सालमा बा २७ प २९५२ नम्वरको मोटरसाइकल ५० हजार रुपैयाँमा बिक्री गरी उक्त मोटरसाइकलको सवारी दर्ता किताब (ब्लु बुक) एक हप्तापछि ल्याइ नामसारी गरिदिने भनेकोमा अहिलेसम्म मोटरसाइकल किन्ने सिन्धुलीकै एक युवकलाई ब्लु बुक नदिएपछि प्रहरीमा उजुरी परेको थियो । मोटरसाइकल किनेर चलाएका युवक पछि दुर्घटनामा परेपछि प्रहरीले उक्त मोटरसाइकल कार्यालयमा ल्याएर राख्यो ।
घाइते युवक उपचारपछि ठीक भएर प्रहरी कार्यालयमा पुगी मोटरसाइकल दिन आग्रह गरे । तर, प्रहरीले मोटरसाइकलको कागजात लिएर आउन भन्यो । त्यसबेलासम्म पनि पहाडीले मोटरसाइकलको कागजात नदिएपछि मोटरसाइकल किन्ने युवकले आफू ठगीमा परेको भनी प्रहरीमा उजुरी गरेका बुझिएको छ ।
सोही उजुरीका आधारमा यही चैत ५ गते नै सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी पहाडीलाई आज बिहान लालबन्दी ६ स्थित बजार क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले उज्यालो अभियानसँग बताए । इन्स्पेक्टर गिरीका अनुसार पहाडीले बिक्री गरेको मोटरसाइकल दुर्घटनामा परेदेखि इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीमा रहेको छ ।
पहाडीले बिक्री गरेको सो मोटरसाइकल कस्को नाममा छ ? भन्ने विषयमा थप अनुसन्धान इन्स्पेक्टर गिरीले बताए । ठगी आरोपमा पक्राउ परेका पहाडीलाई अनुसन्धानका लागि म्याद थप गर्न सर्लाही जिल्ला अदालत मलंगवा लगिँदै छ ।