प्रतिकात्मक तस्बिर ।
चिताईन, २७ फागुन – सर्लाहीको हरिपुरस्थित चिताइनमा आयोजित अन्तर प्रदेश स्तरीय दोस्रो मेयर कप नकआउट पुरुष भलिबल प्रतियोगितामा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) ले बिजयी सुरुवात गरेका छन् ।
हरिपुर नगरपालिका ७ स्थित चिताइन मेला स्थलमा आयोजित प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा नेपाली सेनाको नवलपुरस्थित भैरवीदल गण पाँचकुमारी ब्यारेकले सर्लाही भलिबल टिमलाई २५–१५ र २५–९ को सेटमा पराजित गर्यो । दोस्रो खेलमा सशस्त्र प्रहरी बल नेपालको बर्दिवासस्थित बाहिनीले एभरेष्ट युवा क्लब बडकुर्वा सर्लाहीलाई २५–१४ र २५–१७ को सेटले पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुवात गरेको छ ।
प्रतियोगितामा आज हेटौंडा र महोत्तरी तथा बारा र सिन्धुलीले प्रतिस्पर्धा गर्दै छन् ।
लक्ष्मीनाथ यूवा क्लब चिताइनले आयोजना गरेको भलिबल प्रतियोगितामा नौवटा टिमले सहभागिता जनाएका छन् । फागुन ३० गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले एक लाख र उपबिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यही बिचमा महिला भलिबल प्रतियोगिता समेत आयोजना गरिने आयोजकका चेतनारायण धामीले बताए । उनका अनुसार महिलातर्फ बिजेतालाई २० हजार र उपबिजेतालाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
भलिबल प्रतियोगिताको हिजो दिउँसो आयोजक लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीको अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यता र नगरप्रमुख गोपाल पन्जियारको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिएको हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए ।