logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महालक्ष्मी चिनी उद्योग बन्द, इन्दुशंकर ‘नो क्यान’ मा संचालन


  • उज्यालो अभियान

गोडैता, २६ फागुन – सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग बगदह उखु क्रसिङ सकेर बन्द भएको छ ।

यो वर्ष १२ लाख ३९ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द गरिएको उद्योगका उखु प्रवन्धक पवन सिंहले बताए । “उखु अभाव भएपछि आइतबार रातिदेखि उद्योग बन्द गरिसकेका छौँ,” उखु प्रवन्धक सिंहले भने ।

यता हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग पनि ‘नो क्यान’ मा संचालन भइरहेको छ । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको हो ।

एक सातादेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी बताए । “विगत एक सातादेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,” उखु प्रवन्धक रजकले भने “उखुको अभाव भएपछि उखु क्रसिङ गर्ने दुईवटा मिलमध्ये एउटो मिल मात्रै संचालन गरेका छौँ ।”

यस्तै निकै ढिलो गरी फागुन पहिलो साताबाट संचालनमा आएको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग किसानले उखु ल्याउँदा संचालन गर्ने र उखु नहुँदा बन्द गर्ने गरेर संचालन भइरहेको छ । “हाम्रो मिल निकै ढिलो गरी संचालन भयो त्यसैले पर्याप्त उखु पाएनौँ,” उद्योगका संचालक शैलेन्द्र गुप्ताल भने, “जे जति उखु आउँछ, ती सबै पेलिसकेर केही दिन भित्रैमा फ्याक्ट्री बन्द गर्छौँ ।”

जिल्लाका तीनवटै चिनी उद्योगले यो वर्ष किसानलाई उद्योगमा ल्याएर उखु बुझाएको एक हप्तादेखि १५ दिनभित्रमा भुक्तानी दिइरहेको दावी गरेका छन् ।