लालबन्दी, २५ फागुन – सर्लाहीको लालबन्दीस्थित नगर अस्पताल डुमडुमेमा शल्यक्रियाबाट प्रसुति सेवा लिने पहिलो सुत्केरीलाई सम्मानसहित बिदाई गरिएको छ ।
लालबन्दी नगरपालिका–९, डुमडुमेस्थित नगर अस्पतालमा पहिलो पटक सीएस गरेर प्रसूति सेवा लिएका सिरहाको मिर्चैया घर भई सिन्धुलीस्थित क्यानखोलामा रहेको माइती घरमा बस्ने चण्डिका मगरलाई आज साँझ नगरप्रमुख, उपप्रमुखलगायतले सम्मानसहित बिदाई गरेका हुन् । चिकित्सकले दिएको प्रसूति हुने म्याद १० दिन नाघेको र तीन दिनदेखि प्रसब बेथा लाग्ने औषधि चलाउँदा समेत बच्चा जन्मिन नसकेपछि फागुन २१ गते नगर अस्पताल लालबन्दीमा पहिलो पटक सीएस गरेर बच्चा निकालिएको थियो ।
चण्डिका शल्यक्रियाबाट प्रसूति सेवा लिने पहिलो सेवाग्राही रहेको र शल्यक्रिया पनि सफल भएकाले खुसीयालीसहित डिस्चार्ज गरेर पठाइएको नगर अस्पताल लालबन्दीले जनायो । सुत्केरी चण्डिकालाई आज साँझ लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, लालबन्दी ९ का वडाध्यक्ष नारायण अधिकारीलगायत भएर खादा ओढाई बिदाई गरेका हुन् ।

सीएसपश्चात सुत्केरी र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेकाले चौँथो दिनमा डिस्चार्ज गरेर पठाइएको नगर अस्पतालका इन्चार्ज एवं प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास रायले जानकारी दिए ।
परिवारका सदस्यले चण्डिकालाई सिन्धुलीस्थित क्यानखोला लगेका छन् । सुत्केरीलाई खादा ओढाएर बिदाई गर्दै फलफूल, षोषण झोला र यातायात खर्च समेत दिएर पठाइएको नगर अस्पतालले जनायो ।
पछिल्लो समय सेवा सुधारिँदै लगेसँगै नगर अस्पताल लालबन्दीमा प्रसूतिसहित ओपिडीमा बिरामीको चाप बढ्दै गइरहेको इन्चार्ज डा. रायले बताए ।
चण्डिकालाई सुत्केरी गराउन भनी सँगै आएकी दिदी अम्बिका आले मगरले अस्पतालको सेवा राम्रो लागेको प्रतिक्रिया दिईन् । उनले बहिनीको सीएसपश्चात पनि बेलाबेलामा चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मी आएर राम्रोसँग हेरविचार गर्दिएकोमा खुसी लागेको बताएकी छन् ।