हरिवन, २४ फागुन – सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीमा ४१ जना भारतीय बालबालिकाका अभिभावकलाई सम्झाइबुझाइ गरी हिजो (बुधबार) ती बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ ।
आफ्ना बुवाआमासँगै इँटा भट्टामा आएका ९ महिनादेखि १५ वर्षसम्मका ४१ जना भारतीय बालबालिकालाई स्वास्थ्यकर्मीहरु भट्टामै पुगेर खोप लगाइदिएका हुन् । अनेक भ्रममा परेर अस्ती मंगलबार खोप लगाउन नमानेपछि हिजो पुनः आफूहरु पुगेर परामर्श दिई सम्झाइबुझाइ गरेपछि सबै बालबालिकाका अभिभावक खोप लगाउन सहमत भएका र सबैलाई खोप लगाउने काम गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीले बताए ।
वडा सदस्य अजय कुमार महतो, समाजसेवी श्यामसुन्दर महतो, ओम इँटा उद्योेगका संचालक ओमप्रसाद मैनाली लगायत भएर सम्झाइबुझाइ गरेपछि भारतीयले आ–आफ्ना छोराछोरीलाई दादुरा–रुबेलाको खोप लगाएका हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।