लालबन्दी, २० फागुन – “कृषि, पर्यटन, व्यापार : स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित जारी प्रथम लालबन्दी महोत्सवको आज (आईतबार) समापन हुँदैछ ।
आईतबार दिउँसो चर्चित मोडल प्रिति पासवानको समेत प्रस्तुती रहेको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकीले जानकारी दिए । महोत्सवमा चर्चित मोडल पासवानसँगै गायिकाहरु एन्जिला रेग्मी, टिका प्रसाईं र सहिमा श्रेष्ठले समेत गीत गाएर नचाउने छन् । मोडल पासवान भने पछिल्लो समय तराई मधेश क्षेत्रमा डान्सर सहितको प्रस्तुतीका कारण चर्चामा रहेकी छिन् ।
उद्योग वाणिज्य संघ लालबन्दीका महासचिब प्रदिप भट्टराईका अनुसार दिउँसो १ बजेदेखि समापान समारोह सूरु हुनेछ । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहने समापन समारोहमा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख लगायतको आतिथ्यता रहने आयोजकले जनाएका छन् । दिउँसो ३ बजेदेखि राती ९ बजेसम्म कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएका छन् । कार्यक्रम सञ्चालन भने अनित विष्टले गर्नेछन् ।
बलम्पाकीका अनुसार अस्ताइरहेको र कठीन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी फागुन १० गतेदेखि महोत्सव आयोजना गरिएको हो । महोत्सव आयोजना गर्न ७१ लाख रुपियाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
१० दिनसम्म आयोजना हुने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएपनि उत्साहजनक उपस्थिती भएकाले अनुमानभन्दा निकै संख्यामा दर्शकहरु आएको आयोजकले बताएका छन् । आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपैयाँ र अन्य सर्वसाधारणलाई ७० रुपैयाँ टिकट शुल्क निर्धारण गरेको छ । अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइएको आयोजकले जनाएको छ