हरिवन, १८ फागुन – महिनौदेखि दुध बेचेको पैसा नपाएको भन्दै हिजो सर्लाहीको हरिवनमा पशुपालक किसान, डेरी संचालक, उद्योगीलगायत भएर प्रदर्शन गरेका छन् ।
दुग्ध विकास संस्थान (डीडीसी) लाई तत्काल दुधको भुक्तानी दिन माग गर्दै हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा भेला भएर प्रदर्शन गरिएको हो । सहभागी अगुवा किसान, डेरी संचालक, उद्योगी लगायतले महिनौँसम्म दुधको पैसा रोक्दा ऋणमा चुर्लुम्म डुबेको र अब दुध उत्पादन गर्नै नसक्ने अवस्था आएको दुःखेसो पोखेका छन् ।
किसानहरूले मिल्क होलिडे अर्थात् दूध बिक्री नहुने समस्याको अन्त्य हुनपर्ने र दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने लगायतका माग गरेका छन् । महिनासम्म दुधको पैसा नपाउँदा गाई तथा भैँसी पालेर दुध बेचेर घर व्यवहार धान्ने किसान ठूलो मारमा परेका छन् ।
डेरी संचालकले पनि किसानबाट उठाएको दुधको केही पैसा सरसापट तथा ऋणधन गरेर तिरेपनि डीडीसीले महिनौँसम्म पैसा दिन नसक्दा असाध्य अप्ठेरो परेको गुनासो गर्दै आइरहेका छन् ।