logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अन्नपूर्ण चिनी उद्योग संचालनमा, किसान भन्छन–नेताले मिल मालिकसँग मिलेमतो गरे


  • उज्यालो अभियान

धनकौल, १८ फागुन – सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग उखु सक्किने समयमा बल्ल सञ्चालनमा आएको छ ।

किसानले पुरानो बक्यौता भुक्तानी गरेर मात्रै उद्योग सञ्चालन गर्न दबाब दिएपछि उद्योगले समयमै उखु क्रसिङ सुरु गर्न पाएको थिएन । उखु उत्पादनको याम नै सक्किने बेला किसानलाई सहमतीमा ल्याएर उद्योग सञ्चालन गरिएको हो ।

उद्योगले उखु क्रसिङ सिजन २०७४÷०७५ कै भुक्तानी दिन बाँकी रहेको किसानले बताउँदै आएका छन् । ती किसानलाई आगामी छ महिनाभित्र बाँकी भुक्तानी दिने आश्वासन दिएर केही दिन अघिदेखि उखु क्रसिङ सुरु गरिएको हो ।

धनकौलका एक उखु किसानले राजनीतिक दलका नेताले उद्योगीसँगको मिलोमतोमा किसानलाई सहमतीमा आउन दबाब दिइ जवरजस्ती उद्योग चलाएको उज्यालो अभियानसँग गुनासो गरे । “हामी त पुरानो पैसा नपाएसम्म उद्योग चल्नै नदिने पक्षमा थियौँ तर यस क्षेत्रका चर्चित नेताहरुले नै उद्योगीसँग मिलेर उद्योग चलाइ छाडे,” समाचारमा नाम उल्लेख नगर्न आग्रह गर्दै ती किसानले भने, “पुरानो पैसा बाँकी भएका किसानले उद्योगलाई उखु नदिए पनि नयाँ–नयाँ किसानलाई लोभ्याएर तत्काल नगद दिइ उखु किन्ने काम भएको छ ।”

सर्लाहीसहित तराई क्षेत्रमा अहिले उखु काटेर सक्किने समय भइसकेको छ । जिल्लाको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले उखु क्रसिङ सकेर उद्योग बन्द गर्ने सुरसार गरिरहेका बेला अन्नपूर्ण भने भर्खरै सञ्चालनमा आएको हो ।

पटक–पटक बिक्री भएर नयाँ उद्योगी आउने गरेकाले अन्नपूर्णमा केही वर्षअघि नै उखु बेचेका किसानलाई नयाँ उद्योगीसँग पैसा लिन सकस परेको छ । पहिलेको पैसा बाँकी भएका किसानले उद्योगलाई उखु नदिने तर उखु ल्याउनका लागि नयाँ किसानलाई तत्कालै पैसा दिँदा किसान समेत दुई भागमा विभाजित भएका छन् ।

अन्नपूर्ण चिनी उद्योगका सञ्चालक रमेश श्रीवास्तवले उद्योग सञ्चालन नै हुन नपाए र उखु नदिए उद्योग सङ्कटमा पर्ने भएकाले किसानले समेत यो कुरा बुझिदिनुपर्ने बताए । उनले किसानसँगको सम्झौता पालना गर्न र अहिले क्रसिङ गरिरहेको उखुको पैसा तत्कालै तिर्न प्रतिवद्ध रहेको सुनाए ।

स्थानीय स्तरको चिनी उद्योगले बेलैमा भुक्तानी नदिने र उखुको भुक्तानी लिन राजनीतिक खिचातानी सहनुपर्ने बाध्यताले धनकौल, रामनगर, गोडैतासहित जिल्लाको दक्षिण–पश्चिम भेगका कतिपय किसानले अन्य ठाउँका चिनी उद्योग तथा सख्खर बनाउने क्रसर उद्योगलाई उखु बेच्ने गरेका छन् ।