मलंगवा, १७ फागुन – सर्लाहीमा बुधबारबाट दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
राष्ट्रव्यापी अभियान अन्तर्गत नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई हिजोबाट विद्यालय, स्वास्थ्य संस्था र खोप केन्द्रमा जम्मा पारेर दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय सर्लाहीका खोप अधिकृत रामदुलार यादवले जानकारी दिए । यादवका अनुसार सर्लाहीमा दुई लाख ८० हजार ९६ जना बालबालिकालाई यो खोप लगाइने छ ।
केही कारणबस खोप अभियान हिजो सुरु गर्न नसकेका पालिकाले आजबाट सुरु गर्ने छन् । कर्मचारी तथा जनप्रतिनिधिबीच विवादले तालाबन्दी तथा आन्दोलन भइरहेका पर्सा गाउँपालिका, चन्द्रनगर गाउँपालिका र हरिपूर्वा नगरपालिकाका स्वास्थ्यकर्मीलाई यो राष्ट्रिय अभियान भएकाले सो अवधिभित्र खोप कार्यक्रम सञ्चालन गरिदिन आग्रह गरिएको यादवले बताए ।
स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झाका अनुसार सर्लाहीमा फागुन ११ गतेदेखि १५ गतेसम्म नियमित खोप कार्यक्रम चल्ने भएकाले त्यसको भोलिपल्ट हिजो १६ गतेबाट दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।
खोप लगाउँदा सामान्य दुखाइ भए पनि अरु समस्या नहुने भएकोले ढुक्क भएर खोप लगाउन र अत्याधिक ज्वरो आएको, अस्पतालमा भर्ना भएर उपचार गराइरहेको तथा क्यान्सर लगायतका उपचार गराइरहेको अवस्थामा भने खोप नलगाउन स्वास्थ्यकर्मीको सुझाव छ । कक्षा १० सम्म पढ्ने बालबालिकालाई यो खोप लगाइने छ ।