चक्रघट्टा, १६ फागुन – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० आज सम्पन्न भएको छ ।
चक्रघट्टा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आयोजित प्रतियोगितामा पालिकाको ४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । पालिकाको वडा नं. १ शिवनगरको खेल मैदानमा हिजो र आज दुई दिन आयोजना गरिएको प्रतियोगितामा जनता माध्यमिक विद्यालय चक्रघट्टा ५ पडरिया प्रथम भएको छ ।
पडरियाले ७ स्वर्ण, ४ काँस्य र २ रजत पदक जित्दै प्रथम स्थान प्राप्त गरेको हो । त्यस्तै ५ स्वर्ण, ७ काँस्य र ३ रजत पदकका साथ रामजानकी माध्यमिक विद्यालय चक्रघट्टा ९ खोरिया दोस्रो भएको छ ।
त्यसैगरी ३ स्वर्ण, २ काँस्य र ९ रजतसहित जनता माध्यमिक विद्यालय चक्रघट्टा २ बेल्ही तृतीय भएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा पुरुष तर्फ ९ वटा र महिला तर्फ ८ वटा विधाका खेल संचालन गरिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामस्वार्थ यादवले जानकारी दिए ।
आज समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव कुमार यादव लगायतले बिजेता विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरेका छन् ।