लालबन्दी, १३ फागुन – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आजबाट अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ ।

आगामी बिहीबारसम्म चल्ने अतिरिक्त क्रियाकलापको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीले आज बिहान उद्घाटन गरेका छन् । अतिरिक्त क्रियाकलाप समितिका संयोजक तथा व्यवस्थापन समितिका सदस्य सरोजबाबु न्यौपानेको अध्यक्षता, उपप्रध्यापक रमेश भट्टराईको संचालनमा आयोजित उद्घाटन समारोहमा सहभागीलाई क्याम्पस प्रमुख उमेश तिमल्सिनाले स्वागत गरे ।

प्रतियोगिता अन्तर्गत आज पहिलो दिन नै हाजिरी जवाफ र टेबल टेनिस प्रतियोगिता सम्पन्न गरिएको सहायक क्याम्पस प्रमुख धर्मेन्द्र अधिकारीले जानकारी दिए । अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिबल, फुटबल, क्रिकेट, वुद्धिचाल, म्यूजिकल चेयर, दौड, गायन, नृत्य, मुक्तक र गजल प्रतियोगिता गराइने क्याम्पसले जनाएको छ ।

सबै बिधाका बिजेता विद्यार्थीलाई समापनको दिन पुरस्कार वितरण गरिने सहायक क्याम्पस प्रमुख अधिकारीले बताए ।