लालबन्दी, १० फागुन – उद्योग वाणिज्य सङ्घ लालबन्दीले आयोजना गरेको प्रथम लालबन्दी महोत्सव आजबाट सुरु हुँदै छ ।
“कृषि, पर्यटन र व्यापार ः स्वरोजगार र आत्मनिर्भरताको आधार” भन्ने मूल नारासहित लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण फुटबल मैदानमा महोत्सव सुरु हुन लागेको हो । महोत्सवको आज मध्यान्ह मधेश प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले उद्घाटन गर्दै छिन् ।
महोत्सवको तयारीका सम्पूर्ण काम पूरा भएका छन् । उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले अस्ताइरहेको र कठीन अवस्थाबाट गुज्रिरहेको बजारलाई चलायमान बनाउने मुख्य उद्देश्य राखी महोत्सव आयोजना गर्न लागिएको बताए । फागुन १९ गतेसम्म आयोजना हुने महोत्सवमा ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।
महोत्सव आयोजना गर्न लालबन्दी नगरपालिकाले विनियोजन गरेको पाँच लाख रुपियाँसहित टिकट बिक्रीबाट २० लाख रुपियाँ, स्टल भाडाबाट नौ लाख रुपियाँलगायत अन्य विभिन्न क्षेत्रबाट आम्दानी तथा सहयोग प्राप्त हुने आश गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति प्रमुख आकर्षण रहेको छ । आयोजकले महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई ५० रुपियाँ र अन्य सर्वसाधारणलाई ७० रुपियाँ टिकट शुल्क निर्धारण गरेको छ ।
अशक्त र ज्येष्ठ नागरिकलाई भने निःशुल्क प्रवेश दिइने आयोजकले जनाएको छ ।