logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपूर्वाको नगरसभा आज, केही राजनीतिक दलद्वारा विरोध जनाउने तयारी


  • उज्यालो अभियान

हरिपूर्वा, ७ फागुन – सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज नगर सभा गरिँदै छ ।

नगरप्रमुख विनोदकुमार साह तेलीले बहुमत जुटाएर नगर सभा गर्न लाग्नुभएको हो । बिहान ११ बजेपछि नगरपालिकाकै कार्यालयमा नगरसभा बोलाइएको छ ।

यहाँबाट सरुवा गरिसकिएका प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) शम्भुप्रसाद यादवले रमाना नलिइसकेकाले उनकै उपस्थितिमा आज नगर सभा गर्न लागिएको हो । गएको साउनदेखि तलब नपाएपछि कर्मचारीहरु अघिल्लो हप्ताको आइतबारदेखि कार्यालय बन्द गरेर र शिक्षकहरु हिजो आइतबारबाट नगरभित्रका १६ वटै सामुदायिक विद्यालय बन्द गरेर धर्नामा बसेपछि नगरप्रमुख साहसहितका जनप्रतिनिधिलाई नगर सभा गरेर बजेट पारित गर्नुपर्ने दबाब परेको छ । तर, मेयर साहलाई सबै जनप्रतिनिधिको साथ भने छैन् ।

खानेपानी मन्त्री महिन्द्र राय यादव पक्षका जनप्रतिनिधिले मेयर साहको विरुद्धमा नाराबाजी र प्रदर्शनको तयारी गरेका छन् । नगरप्रमुखले नगर सभा गर्न लागेपछि अनेक माग राखी आन्दोलन गर्दै आइरहेको विभिन्न दल सम्मेलित संघर्ष समितिले आज हरिपूर्वामा प्रदर्शनको तयारी गरेको छ ।

संघर्ष समितिले हिजो बेलुका नै विरोधस्वरुप राँके जुलुस निकालिसकेको छ । एक पक्षले नगरसभा गर्ने र अर्को पक्षले विरोध जनाउने भएपछि आज हरिपूर्वामा व्यापक मात्रामा प्रहरी परिचालनको तयारी गरिएको छ ।

सर्लाहीका एक सुरक्षा अधिकारीले हरिपूर्वामा आज उच्च सुरक्षा प्रदान गरिने उज्यालो अभियानसँग बताए । राजनीतिक खिचातानीका कारण तलब, भत्ता रोकिनुका साथै विकास निर्माणका काम ठप्प हुँदा हरिपूर्वाका स्थानीय निराश बनेका छन् ।

मेयर साहले आफूलाई बद्नाम बनाउने र नगरपालिकालाई बन्धक बनाइराख्न यसै क्षेत्रका सांसद तथा खानेपानी मन्त्री महिन्द्र राय यादवले ‘रोल’ खेलिरहेको आरोप लगाउँदै आएका छन् ।

राजनीतिक खिचातानीले गर्दा जिल्लाको चन्द्रनगर गाउँपालिकाले पनि गाउँसभा गर्न सकेको छैन् ।