logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गोलभेँडाको मूल्य ह्वात्तै घट्यो, किसान चिन्तित


  • उज्यालो अभियान

लालबन्दी, ३ फागुन – केही दिनदेखि गोलभेँडाको मूल्य ह्वात्तै घटेपछि सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् ।

एक साता अघिसम्म यहाँका किसानले गोलभेँडा प्रतिक्रेट नौ सयदेखि एक हजार रुपियाँ अर्थात् प्रतिकेजी ३६ रुपियाँदेखि ४० रुपियाँसम्ममा बिक्री गरेका थिए । अहिले भने मूल्य घटेर क्रेटको २५० देखि ३०० रुपियाँ अर्थात् प्रतिकेजी १० देखि १२ रुपियाँमा बिक्री गर्नुपरेको किसानले बताएका छन् ।

लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले घाम चर्किएर सबैतिर गोलभेँडा राताम्मे भएर पाकेको र बजारमा धेरै नै भित्रिरहेकाले मूल्य घटेको बताए । “घाम चर्किएर जहिँतहीँ गोलभेँडा पाकेकाले किसानले बजारमा धेरै नै ल्याइरहेका छन,” व्यापारी उस्मानले भने, “बाहिरी शहरमा निकासी हुने भन्दा धेरै भित्रिएपछि भाऊ घटेको हो ।”

लालबन्दी बजारबाट अहिले दैनिक पाँचवटा ट्रकमा दस हजार क्रेट गोलभेँडा काठमाडौँ निकासी भइरहेको छ । उपत्यका बाहिरका बजारमा समेत एक हजार क्रेट गोलभेँडा निकासी हुने गरेको कृषि थोक तरकारी बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ ।

माघ मध्यतिर गोलभेँडाको राम्रो मूल्य पाएका किसान मौसममा आएको बद्लीसँगै मूल्य घट्दा मारमा परेका छन् । हरिवन नगरपालिका–३, डाबरीका किसान ज्ञानबहादुर पुलामीले माघ लागेदेखि शितलहरले गोलभेँडाको बोट नै मरेर त्यसै पनि क्षति व्यहोर्नुपरेको अवस्थामा अहिले घाम चर्किन थालेपछि मूल्य ओरालो लाग्दा मारमा परेको गुनासो गरेका छन् ।

उनले गोलभेँडा खेती गर्ने किसान दोहोरो मारमा परेको बताए । “पाकेर राताम्मे भएका गोलभेँडा तत्काल नबेचे बारीमै नष्ट हुन्छ, बेच्न लैजाऊँ भाउ घटेर लगानी नउठ्ने अवस्था छ,” पुलामीले भने ।

सर्लाहीको उत्तरी भेगका लालबन्दी, रानिगन्ज, घारिबथान, पत्थरकोट, हिरापुर, चन्द्रपुर, नवलपुर, सासापुर, डाबरी, जियाजोर, घुर्कौलीलगायत क्षेत्रमा गोलभेँडाको व्यवसायिक खेती हुने गरेको छ । यहाँका किसानको गोलभेँडा खेती आम्दानीको मुख्य स्रोत हो ।