हरिपूर्वा, माघ २७ – प्रमुख प्रशासकीय अधिकृतको अभाव र नगर सभा हुन नसक्दा सात महिनादेखि तलबविहीन रहेका सर्लाहीको हरिपूर्वा नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् ।
उनीहरुले गएको साउनदेखिको तलब, भत्ता यथाशीघ्र प्राप्त गर्ने वातावरण सिर्जना गरिदिन माग गर्दै शुक्रबार नगर प्रमुख विनोद कुमार साह तेली र सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापन पत्र बुझाइ आन्दोलन सुरु गरेका हुन् । कर्मचारीहरुले संयुक्त रुपमा बुझाएको ज्ञापन पत्रमा भोली आइतबारदेखि अनिश्चितकालका लागि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालयबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् ।
आइतबारदेखि कार्यालय नआएर घरमै बस्ने कर्मचारीको भनाई छ । राजनीतिक दलदलमा फसेको हरिपूर्वा नगरपालिकाले गएको असारमै गर्नुपर्ने नगरसभा अझै गर्न सकेको छैन् ।
नगर सभा नभएकाले यहाँ बजेट पारित नभएर तलब, भत्ता रोकिएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्दा नगरसभा अन्यौलमा परेको छ ।
उपसचिव शम्भुप्रसाद यादव हरिपूर्वा नगरपालिकामा तीन पटक प्रमुख प्रशासकीय अधिकृत भएर हाजिर भएपनि उनको तीन पटक नै अत्यन्त छोटो अवधिमै सरुवा भएको छ । गएको पुस ११ गते तेस्रो पटक सरुवा भएर आएपछि नगरसभाको तयारीमा जुट्नुभएका यादवको २२ दिनमै माघ ३ गते अन्यत्र सरुवा भएको थियो ।
यादवको यसअघि पहिलो पटक एक घण्टामै र दोस्रो पटक २४ घण्टा बित्न नपाउँदै सरुवा भएको थियो । सात महिनासम्म कुर्दा समेत तलब पाउने छाँट नदेखेपछि कर्मचारीले बाध्य भई कार्यालय बन्द गरी घरमै बस्ने निर्णय गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
नगर कार्यपालिकाले नगरसभा नगर्दा र मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा आफूहरुमाथि मानसिक पीडा र आर्थिक सङ्कट परेको कर्मचारीले गुनासो गरेका छन् । बजेट नचल्दा वडा, नगर, स्वास्थ्य संस्थालगायत सबै कार्यालयमा मसलन्दसहित अन्य आवश्यक सरसामग्री सक्किएर सेवा दिनै मुस्किल परेको कर्मचारीको भनाई छ ।
हरिपूर्वामा यसअघि शिक्षकहरु तलब माग गर्दै दुई सातासम्म विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा आइ धर्नामा बसेका थिए । नगरप्रमुखले तत्काल समस्या समाधान गरी रोकिएको तलब, भत्ता निकासा गर्ने आश्वासन दिनुभएको थियो । तर अहिलेसम्म नगरसभा हुन नसकेकाले शिक्षक, कर्मचारीको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता निकासाबारेको अन्यौलता हट्न सकेको छैन् ।
हरिपूर्वा नगरपालिकाका नगरप्रमुख विनोदकुमार साह तेलीले आफूले बल्लतल्ल सरुवा गरेर ल्याएको प्रमुख प्रशासकीय अधिकृतलाई टिक्न नदिने र नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएर आफूलाई बद्नाम गराउने काम भइरहेको गुनासो गर्दै आएका छन् । उनले सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवं हालका खानेपानी मन्त्री महिन्द्रराय यादवको इसारामा हरिपूर्वा नगरपालिकालाई बन्धक बनाउने काम भएको आरोप लगाएका छन् । “म हप्तौँहप्ता मन्त्रालय धाएर ‘हाकिम’ लिएर आउँछु तर उहाँलाई टिक्नै दिइँदैन, नयाँ पनि पठाइँदैन,” नगरप्रमुख साहले उज्यालो अभियानसँग भने “यो सबै षडयन्त्र मन्त्री ज्यूको इसारामा भइरहेको छ ।”
नगरपालिकालाई बन्धक बनाएर आफूलाई असफल गराउने खेलमा मन्त्री यादव लागेको नगरप्रमुख साहको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत टिक्नै नदिएको र नयाँ पनि नपठाएको विषयमा मन्त्रालयमा बुझ्दा खानेपानी मन्त्रीको दबाब छ भन्ने जवाफ आउने गरेको नगरप्रमुख साहले सुनाए ।
मन्त्री यादवको घर पनि हरिपूर्वा नगरपालिकामै हो । हरिपूर्वामा नगर कार्यपालिकाभित्रै पनि नगर प्रमुख र उपप्रमुख तथा वडाध्यक्षबीच विवाद चल्दै आएको छ ।
नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत भइदिए आफू आन्तरिक विवाद समाधान गरी नगरसभा गर्न तयार रहेको दाबी गर्दै आएका छन् । राजनीतिक टकराबले नगर सभा नभएर बजेट पारित नहुँदा विकास निर्माणका काम ठप्प हुँदा हरिपूर्वाका स्थानीय निराश बनेका छन् ।