हरिवन, २६ माघ – तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा सर्लाहीको बागमती र हरिवन नगरपालिकाले पर्सी आइतबार स्थानीय बिदा दिएका छन् ।
सोनाम ल्होछार पर्व भोली हर्षोल्लासपूर्वक मनाइँदै छ । तामाङ बाहुल्य रहेको बागमती र हरिवन नगरपालिकाले पर्व परेको दिन भोली सार्वजनिक बिदा नै रहेकाले पर्सी आइतबार थप एक दिन बिदा दिने निर्णय गरेका हुन् ।
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान र प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आज संयुक्त हस्ताक्षर गरी जारी गरेका सूचनामा आइतबार नगरभित्र स्थानीय बिदा दिइएको उल्लेख छ ।
यस्तै हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले हस्ताक्षर गरी जारी गरेका सूचनामा तामाङ समुदायले हर्षोल्लासपूर्वक मनाउने साँस्कृतिक पर्व सोनाम ल्होछारका अवसरमा आइतबार स्थानीय बिदा दिइएको उल्लेख गरेका छन् ।
यि दुई पालिकामा आइतबार नगरपालिका र अन्तर्गतका कार्यालय तथा शिक्षण संस्थाहरु बन्द रहने भएका छन् ।
सोनाम ल्होछारको अवसरमा तामाङ समुदायको बसोवास रहेको ईश्वरपुर, लालबन्दी, बागमती, बरहथवालगायत पालिकाका विभिन्न स्थानम भोली शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ ।