logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

महादेव माविलाई राष्ट्रपति रनिङ शिल्ड


  • उज्यालो अभियान

हरिवन, २६ माघ – सर्लाहीको हरिवनमा आयोजित नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि महादेव जनता नमूना माध्यमिक विद्यालय हरिवन ८ ले हात पारेको छ ।

प्रतियोगितामा २० स्वर्ण, १४ रजत र ८ कास्यसहित जम्मा ४२ पदक जित्दै महादेव मावि रनिङ शिल्ड च्याम्पियन बनेको हो । त्यस्तै ६ स्वर्ण, ३ रजत र ३ कास्यसहित जम्मा १२ पदकसहित मनकामना आवासिय विद्यालय हरिवन ११ दोस्रो र ५ स्वर्ण, ७ रजत र १० कास्यसहित २२ पदक प्राप्त गरी प्रतियोगिताको व्यवस्थापक रहेको विद्यालय चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालय हरिवन १० सुखेपोखरी तेस्रो भएका छन् ।

प्रतियोगिताका बिजेता विद्यालयका विद्यार्थीहरुलाई हरिवन नगरपालिकाका कार्यवाहक नगरप्रमुख हरिमाया घलान, शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाईं, सुखेपोखरी माविका अध्यक्ष सन्तोष भुजेललगायत भएर पुरस्कार वितरण गरेका छन् ।

सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी १६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

सहभागी विद्यालयका विद्यार्थीबीच भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते र तेक्वान्दोमा प्रतिस्पर्धा भएको छ ।