logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तरकारीको हब बन्दै लालबन्दी, किसानले ६ महिनामा ७३ करोड कमाए


  • उज्यालो अभियान

लालबन्दी, २६ माघ – सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारबाट छ महिनामा ७३ करोड बढीको तरकारी निकासी भएको छ ।

कृषि थोक बजार व्यवस्थापन समितिको आंकडा अनुसार गएको साउनदेखि पुस महिनासम्म यहाँबाट देशका विभिन्न बजारमा ७३ करोड ८२ लाख ६४ हजार १२५ रुपियाँको तरकारी निकासी भएको हो ।

साउन महिनामा १४ करोड ३९ लाख ६१ हजार ६५० रुपियाँ, भदौ महिनामा १५ करोड ४८ लाख ५३ हजार ४५० रुपियाँ, असोज महिनामा १६ करोड सात लाख ३६ हजार १०० रुपियाँ, कात्तिक महिनामा १० करोड ७५ लाख १५ हजार ४५० रुपियाँ, मङ्सिर महिनामा आठ करोड पाँच लाख दुई हजार रुपियाँ र पुस महिनामा नौ करोड छ लाख ९५ हजार ४७५ रुपियाँको तरकारी बाहिरी जिल्लाका बजारहरुमा निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

यो सबै किसानले गरेको आम्दानी हो । यहाँका किसानले छ महिनामा गोलभेँडा, बोडी, सिमी, फूल कोभी, बन्दा, लौका, भान्टा, करेला, काक्रो, खुर्सानी, परवल, झिङ्गनी, घिरौलालगायतका हरियो तरकारी बिक्री गरेर त्यति रकम आम्दानी गरेका कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए । देशका प्रमुख ११ वटा तरकारी बजारमध्येको लालबन्दी थोक तरकारी बजारमा सर्लाहीको आधा दर्जन बढी पालिका र महोत्तरीको उत्तरी भेगका किसानले पनि आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न ल्याउने गरेका छन् ।

यहाँको थोक तरकारी बजारमा किसानले ल्याएर बिक्री गरेको तरकारी व्यापारीले काठमाडौँको कालिमाटी, बल्खु र जडिबुटी तरकारी बजारसहित पोखरा, बुटवल, नारायणघाट, वीरगन्ज, गौर, जनकपुर, जलेश्वर, सिन्धुली र पूर्वका विभिन्न शहरमा लगेर बेच्ने गरेका छन् ।

बजारका व्यवस्थापक घिमिरेका अनुसार पछिल्लो समय लालबन्दीको तरकारी सीमावर्ती भारतको सोनवर्षासम्म पनि पुग्न थालेको छ । “यहाँबाट अहिले सोनवर्षासम्म तरकारी पुग्न थालेको छ, व्यापारीले मोटरसाइकलमा हालेर त्यहाँसम्म तरकारी लैजाने गरेका छन्,” घिमिरेले भने । किसानले उत्पादन गरेर ल्याउने प्रत्येक हरियो तरकारी बजारमा बिक्री हुने गरेको छ ।

स्थानीय उपभोक्ता र यहाँ रहेका होटलहरुमा स्थानीय किसानले फलाएकै तरकारी खपत हुने गरेको छ । दिनभर नै खुल्ने लालबन्दी थोक तरकारी बजारमा किसानले बिहानदेखि बेलुकासम्म नै तरकारी ल्याएर बिक्री गर्ने गरेका छन् ।

किसानले साइकल, मोटरसाइकल, टेम्पु, टायरगाडासहितका साधनमा ल्याएर तरकारी बिक्री गर्दै आइरहेका छन् । सर्लाहीको उत्तरी भेगका अधिकांश किसानको प्रमुख आम्दानीको स्रोत तरकारी खेती नै हो ।