logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीका सिमसार क्षेत्र मासिँदै, मानव हस्तक्षेप बढ्दो


  • उज्यालो अभियान

पानी सुकाइएको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, २५ माघ – पछिल्लो समय सर्लाहीका सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्न थालेका छन् ।

पृथ्वी, मानव, जलचर जीव र वन्यजन्तुका लागि महत्वपूर्ण मानिने सिमसार क्षेत्र चरम दोहन र मानव हस्तक्षेपले गर्दा मासिन थालेका हुन् । यहाँका तालतलैया र सिमसार क्षेत्रको अवस्था दिनानुदिन नाजुक बन्दै गएकोप्रति संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

प्राकृतिक वा मानव निर्मित ताल, पोखरी, जलाशय, खोला, नदी र नदीबाट प्रभावित हुने भूमीलाई सिमसार क्षेत्र मानिन्छ । डिभिजन वन कार्यालय सर्लाहीको तथ्याङ्क अनुसार जिल्लामा सिमसार क्षेत्रका रुपमा खोलानाला एक हजार ४०६ हेक्टर र पोखरी तथा ताल ४२२ हेक्टर रहेका छन् ।

यसमा बागमती नगरपालिकामा १२१ बिघामा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) समावेश गरिएको छैन् । जिल्लाका खोलानालामध्ये बरहथवास्थित सोती खोला र मनुष्मारा खोलामा मात्रै प्रायः पानी बग्ने गरेको छ ।

यहाँका अन्य खोलानाला भने वर्षायाममा बाहेक छिट्टै सुक्न थालेका छन् । डिभिजन वन कार्यालय सर्लाहीका सहायक वन अधिकृत सजन चौधरीले जिल्लाका सिमसार क्षेत्रको अवस्था दयनिय बन्दै गएको बताए ।

उनले यहाँका खोलानाला बेलैमा सुक्ने र विभिन्न पानी रसाइरहने जरुवा क्षेत्र अतिक्रमणको चपेटामा परेका बताए । “अहिले अधिकांश सिमसार क्षेत्र स्थानीय तहको मातहतमा पर्छन्, तिनको संरक्षण गर्ने प्रमुख दायित्व पालिकाकै हो,” सहायक वन अधिकृत चौधरीले भने, “तर संरक्षणको साटो अधिकांश सिमसार क्षेत्रमा दोहन बढेको पाइन्छ ।”

सिमसार क्षेत्रमा अतिक्रमण र मानव हस्तक्षेप बढ्नु चिन्ताको विषय रहेको उहाँको भनाई छ । सिमसार क्षेत्र मासेर सडक तथा विभिन्न संरचना निर्माण गर्ने, माछापालनका लागि प्राकृतिक ताल सुकाउने, जथाभावी खन्नेलगायत समस्या बढी देखिएका छन् ।

सर्लाहीमा प्रमुख सिमसार क्षेत्रको रुपमा रहेको चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल केही महिनादेखि सुकाएर सुक्खा बनाइएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतोले ताल सरसफाई तथा संरक्षणकै काम गर्नका लागि पानी सुकाइएको दावी गरेका छन् ।

सिमसारमाथि चराचुरुङ्गी, जलीय प्राणी र जीवजन्तु मात्रै नभइ मानव अस्तित्व समेत निर्भर रहन्छ । ताल तलैयामा मानव हस्तक्षेप बढेर असर पुग्दा रैथाने प्रजातिका बोटविरुवा तथा चराचुरुङ्गी हराउँदै गएका स्थानीयको बुझाई छ ।

लालबन्दी नगरपालिका–७, निवासी पुराना पत्रकार रोहित पौडेलले लालबन्दीसहित यस आसपासका क्षेत्रमा आफूले केही वर्षअघिसम्म निरन्तर पानी जम्ने तथा बगिरहेको देख्ने सिमसार क्षेत्र मासेर अहिले स्थानीय तहहरुले विभिन्न भौतिक संरचना, बाटोघाटो निर्माण गरेका बताए ।