घनश्याम बलम्पाकी, २५ माघ – सर्लाहीको लालबन्दीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम छनौट अन्तर्गत आज सरोकारवालासँग उद्योग वाणिज्य संघको सभा हलमा छलफल सम्पन्न भएको छ ।
सर्लाही क्षेत्र नम्वर १ (ख) का प्रदेश सभा सदस्य वेची लुंगेलीको संसदीय विकास कोष अन्तर्गतको सडक निर्माण गर्ने बिषयमा सरोकारवालासँंग छलफल भएको हो । मधेश प्रदेश अन्तर्गत संसदीय विकास कोषमार्फत एक निर्बाचन क्षेत्र, एक सडक कार्यक्रम अन्तर्गत पाँच किलोमिटर कालोपत्रे सडक कुन सडकलाई प्राथमिकतामा राखेर निर्माण गर्दा समग्र क्षेत्रवासीले अपनत्व महसुश गर्ने र समृद्ध हुने हो भन्ने बिषयमा जनप्रतिनिधि, दलका प्रतिनिधि, स्थानीवासी र सरोकारवालाहरुसंग छलफल भएको हो ।
१० करोड बढीको लागतमा पाँच किलोमिटर लम्बाइ, १० मिटर चौडाइ रहेको सडक निर्माणका बिषयमा छलफल भएको छ । उक्त सडक आफ्नो कार्यकाल भित्र सम्पन्न गर्नुपर्ने प्रदेश सांसद बेची लुंगेलीले बताईन् । अधिकांश सहभागीले लालबन्दी ११ देखि पूर्व परवानीपुर चिसापानी, लालबन्दी ८ संजीवनी गुम्वा हुँदै सतभैया, लालबन्दी १३ छेंडा हुँदै वडा नम्बर १४ नारायण खोलाको सडक निर्माण गर्न उपयुक्त हुने बताएका छन् ।
छलफल कार्यक्रममा सहभागीहरुले लालबन्दी बजार लगायत समग्र क्षेत्रको समृद्धिमा टेवा पुग्ने सडक निर्माण गर्न सुझाएका छन् । यसका लागि एउटा सशक्त अध्ययन टोली बनाई चाँडो भन्दा चाँडो काम अगाडी बढाउनु पर्ने सहभागीहरुको भनाइ छ ।
विकास निर्माणको काममा यसरी सरोकारवाला, जनप्रतिनिधि र स्थानीयलाइ एउटै कार्यक्रमा राखेर छलफल गरेर सुझाव संकलन गरेर ऐतिहासिक कामको थालनी गरेकोमा सहभागीहरुले खुशी व्यक्त गरे ।
यसरी छलफल गरी विकास निर्माणका काम गर्दा अपेक्षाकृत परिणाम निस्कने उनीहरुको भनाई छ । कार्यक्रममा यस निर्वाचन क्षेत्रमा पर्ने लालबन्दी, हरिपुर, कविलासी र इश्वरपुर नगरपालिकाका जनप्रतिनिधि, राजनीतिज्ञसहित स्थानीयको सहभागिता रहेको थियो ।