हरिवन – सर्लाहीको सुखेपोखरीमा आजबाट हरिवन नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
हरिवन १० सुखेपोखरीस्थित चतुर्भूजेश्वर जनता माध्यमिक विद्यालयमा पर्सीसम्म चल्ने प्रतियोगिताको कार्यवाहक मेयर हरिमाया घलानले उद्घाटन गरिन् । सुखेपोखरी माविका व्यवस्थापन समिति अध्यक्ष सन्तोष भुजेलको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, निवर्तमान प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोते, नगरस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापकहरुलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा नगरभित्रका सामुदायिक तथा संस्थागत गरी १६ वटा विद्यालयले सहभागिता जनाएका हरिवन नगरपालिका शिक्षा शाखाका प्रमुख रुस स्टालिन चौलागाईंले जानकारी दिए । उनका अनुसार सहभागी विद्यालयका विद्यार्थीबीच भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दोमा प्रतिस्पर्धा हुने छ ।

सबै विधामा पर्सी शुक्रबारसम्म प्रतिस्पर्धा गराई पुरस्कार वितरण गरिने हरिवन नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।