logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा फागुन दोस्रो साताबाट महोत्सव लगाउने तयारी


  • उज्यालो अभियान

लालबन्दी, २४ माघ – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा फागुन दोस्रो साताबाट महोत्सव लगाउने तयारी गरिएको छ ।

त्यसको तयारी स्वरुप आज दिउँसो उद्योग वाणिज्य संघको कार्यालयमा बृहत छलफल गरिएको अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीले उज्यालो अभियानसँग बताए । लालबन्दी ६ स्थित फुटबल चौरमा फागुन १० गतेदेखि १९ गतेसम्म प्रथम लालबन्दी व्यापार महोत्सव लगाउने तयारी गरिएको हो ।

आजको छलफलले महोत्सवमा स्टल राख्नेदेखि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी औधोगिक शान्ति नेपाल तथा संयुक्त नेपाल मेला महोत्सव प्रा.लि. लाई दिने निर्णय गरेको अध्यक्ष बलम्पाकीले जानकारी गराए । उनका अनुसार आर्थिक मन्दीका कारण सुस्ताएको बजारलाई महोत्सव लगाएर चलायमान गर्ने प्रमुख उद्देश्य छ ।

महोत्सवमा स्थानीय व्यापारिक स्टल, लोकल परिकारको प्रदर्शनीसहित स्थानीय तथा राष्ट्रिय कलाकारको विशेष प्रस्तुति राख्ने उद्योग वाणिज्य संघ लालबन्दीको तयारी छ । झण्डै ५० हजार जनाले अवलोकन गर्ने गरी महोत्सव लगाउने तयारीमा लागिएको अध्यक्ष बलम्पाकीले बताएका छन् ।

महोत्सवको तयारीस्वरुप लालबन्दी ६ स्थित संघकै कार्यालयमा आज भएको छलफलमा संघका वर्तमान पदाधिकारी तथा सदस्य, पूर्व अध्यक्ष बाबुबाजी नुच्छे प्रधान, कल्याणकुमार जोशी लगायतको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ लालबन्दीले केही दिनमा पत्रकार सम्मेलन गरी महोत्सवबारे विस्तृत जानकारी गराउने जनाएको छ ।