लालबन्दी – सर्लाहीमा आज फेरि बिहानैदेखि शितलहर चलेर बाक्लो हुस्सु लागिरहेको छ ।
शितलहर र बाक्लो हुस्सुले चिसो पुनः बढेपछि जनजीवन प्रभावित बनेको छ । सर्लाहीसहित तराई क्षेत्रमा माघ १५ पछि शितलहर र हुस्सु रोकिएको थियो ।
तर, आजबाट फेरि माघ पहिलो साताको जस्तै बाक्लो हुस्सु लागेर शित झरिरहेको हो । हुस्सुका कारण ५० मिटर अगाडिको दृश्य समेत प्रष्टसँग देखिएको छैन् । सवारी साधनहरु दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।
सर्लाहीको तापक्रम आज बिहान ७ बजे १३ डिग्री सेल्सीयस मापन भएको छ । हिजो यसै समयमा यहाँको तापक्रम १६ डिग्री सेल्सीयस थियो । माघ पहिलो र दोस्रो साता यहाँ अत्यन्त कठ्यांग्रिदो चिसो हुदा तापक्रम ७÷८ डिग्री सेल्यीयसको हाराहारीमा हुन्थ्यो ।
यहाँ हिजो बिहानपख पातलो मात्रामा लागेको हुस्सु हेटर मध्यान्हपछि पारिलो घाम लागेको थियो । तर आज भने बाहिर निस्कँदा भिज्ने गरी शित झरेर बाक्लो हुस्सु लागिरहेको हो । हुस्सु र शितलहरले विद्यार्थी, किसान, मजदुर र अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेहरु प्रभावित भएका छन् ।
चिकित्सकले अहिले चिसोजन्य संक्रमणका बिरामी बढिरहेकाले यस्तो प्रतिकूल मौसम भएका बेला सकेसम्म घरभित्रै न्यानो भएर बस्न, शिशु, बालबालिका, वृद्धवृद्धा र ज्येष्ठ नागरिकको ख्याल गर्न सुझाव दिएका छन् ।