logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीको मौसम अहिले बिहानपख पानी पर्लाजस्तो भई धुम्म


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज पानी पर्लाजस्तो भएर धुम्म भइरहेको छ ।

यहाँको मौसम बद्ली भएर धुम्मिएको हो । आकाशमा बादल देखिएको छ । यहाँ हिजो दिउँसोपख पानी छिट्याएको थियो ।

जिल्लामा आज पातलो मात्रामा हुस्सु समेत लागिरहेको छ । तर, चिसो भने विस्तारै कम हुँदै गएको छ । माघ १५ पछि शितलहर रोकिएकाले चिसो घट्दै गएको हो ।

यसैबीच सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बाग्मती प्रदेशका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । पश्चिमी वायु सक्रिय भएसँगै यी क्षेत्रमा वर्षासँगै हिमपात भएको हो ।

पश्चिमको तुलनामा काठमाण्डौसहित मध्य र पूर्वी पहाडी क्षेत्रमा कम पानी परेको छ । हल्का पानी परेको ठाउँमा हिउँदेबालीलाई फाइदा भएको छ ।

आज पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै ठाउँहरु तथा गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज बेलुकीदेखि पानी पर्ने क्रम हट्दै जाने महाशाखाले जनाएको छ ।

भोलि र पर्सि पानी पर्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले बताए । पश्चिमी वायु सक्रिय भएसँगै तराई मधेसमा हुस्सु, कुहिरो हटेर मौसममा सुधार हुँदै गइरहेको छ ।