प्रतिकात्मक तस्बीर ।
बागमती, २१ माघ – बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरतताल) नजिक शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार बरहथवा नगरपालिका–७, की १९ वर्षीया अस्मिता रायको ज्यान गएको हो । भरत तालबाट बरहथवातर्फ जाने सडकमा मधेश प्रदेश–०३–२५ प ५९२७ नम्वरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भइ पल्टिँदा अस्मिता गम्भीर घाइते भएकी थिईन् । उनलाई बागमती मोडेल अस्पताल कर्मैयामा सामान्य उपचारपश्चात चन्द्रपुर सरकारी अस्पताल रौतहट पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इप्रका हरिवनले जनायो ।
दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–७, कै २६ वर्षीय मुन्ना यादव सामान्य घाइते भएका छन् । चालक यादव र मोटरसाइकललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
भरत तालमा घुमफिरका लागि आएका उनीहरु दुर्घटनामा परेका इप्रका हरिवनका प्रमुख अनिलराज गिरीले बताए । प्रहरीले अस्मिता र मुन्नासँगै घुमफिरका लागि आएका मोटरसाइकल धनी २१ वर्षीय सिद्धान्त कुमार शर्मालाई पनि नियन्त्रणमा लिएको छ ।