पत्थरकोट – पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाका प्रमुखसहित आज (शनिबार) लालबन्दी नगरपालिका अन्तर्गत पर्ने नारायणडाँडादेखि कालिन्जोर खोलासम्म पदयात्रा (हाइकिङ्ग) गरिएको छ ।

लालबन्दी नगरपालिकाको आयोजनामा चुरे क्षेत्रस्थित वडा नं. १३ नारायणडाँडा भ्यू टावरदेखि कर्मडण्डी, बाहुनीडाँडा, अर्नेडाँडा हुदै वडा नं. १५ माथिल्लो चिसापानीस्थित कालिन्जोर खोलासम्म पहिलो पटक “पर्यटन प्रवर्द्धन –पदयात्रा” गरिएको हो । करिव १५ किलोमिटर चुरेडाँडाको ट्रयाक बाटोमा जनप्रतिनिधि, सुरक्षा अधिकारी, राजनीतिज्ञ, व्यवसायी, उद्योगी, संचारकर्मी, साहित्यकर्मी, कर्मचारी र स्थानीय वासिन्दाले पत्रयात्रा गरेका हुन् ।

प्राकृतिक रुपमा सुन्दर र पर्यटकीय क्षेत्रको सम्भावना बोकेको पदमार्गको प्रवर्द्धन तथा त्यसको स्थिति बुझ्ने उद्देश्यले पदयात्रा गरिएको लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले बताए ।

पदयात्रामा प्रदेशसभा सदस्य बेची लुङ्गेली, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, नगरप्रमुख अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, चारवटै सुरक्षा निकायका प्रमुखलगायत सहभागी भए ।

यही माघ १२ गते सम्पन्न एघारौँ नगरसभाको निर्णय बमोजिम पर्यटन प्रवर्द्धन–पदयात्रा गरिएको लालबन्दी नगरपालिकाले जनायो । तराईको सुगम मानिने सर्लाही जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गतको दुर्गम चुरे क्षेत्र आसपास बस्ने नागरिक सामान्य आधारभूत सेवा (बाटो, पानी, बिजुली लगायत ) बाट बन्चित रहनु परेकाले त्यस क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने हेतुले पदयात्रा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।

पदयात्रामा सहभागी प्रमुख जिल्ला अधिकारी धमलाले चुरेक्षेत्रको संरक्षणसहित पदमार्गको रुपमा विकास भएको त्यस क्षेत्रमा स्थानीय सँस्कृतिसँग जोडेर होम स्टे (घरबास) सन्चालन गर्न सकिने सम्भावना देखिएको बताए ।

पदयात्रामा सहभागी टोलीले फर्किनेक्रममा लालबन्दी १६ परवानिपुरमा कृषि क्याम्पस बन्ने जग्गाको निरीक्षण समेत गरेको छ ।
