हरिवन, १८ माघ – सर्लाहीको हरिवनबाट प्रहरीले बिहीबार अपरान्ह नक्कली नोटसहित पक्राउ गरेका दुई जनाको साथबाट एक लाख ७२ हजार नक्कली नोट बरामद भएको छ ।
त्यस्तै, २१ बन्डल नक्कली हजार दरका नोटको साइजमा कटिङ गरिएको कागज बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले उज्यालो अभियानसँग बताए । इन्स्पेक्टर गिरीका अनुसार तल्लो र माथिल्लो भागमा नक्कली हजार दरका नोट राखेर २० वटा टेष्टी बिस्कुटको पुरिया समेत फेला परेको छ ।
प्रहरीले यस घटनामा संलग्न रौतहटको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय सन्जय सहनी र सर्लाहीको बलरा नगरपालिका–७ का २३ वर्षीय अमरेन्द्र महरालाई पक्राउ गरेको हो । नक्कली नोटको ओसारपसार भइरहेको विशेष सूचना प्राप्त गरेपछि हरिवनका इन्स्पेक्टर गिरी नेतृत्वको प्रहरी टोली फिल्डमा परिचालित भएको थियो ।
कर्मैयाबाट लालबन्दीतर्फ आउँदै गरेको सहनी सवार प्रदेश–२–०२७ प ४२५६ नम्वरको मोटरसाइकल र सँगसँगै रहेको महरा सवार बीआर ३० एसी ८३१८ नम्वरको मोटरसाइकललाई प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा रोकेर खानतलासी लिँदा सन्जय सहनीले बोकेको झोलाबाट नक्कली नोटसहितका सामग्री बरामद भएको हो ।
बीआर ३० एसी ८३१८ नम्वरको मोटरसाइकलका चालक अमरेन्द्र महराको साथमा ८.८१० ग्राम लागूऔषध गाँजा समेत बरामद भएको छ । प्रहरीले रोक्न खोज्दा उनीहरु भाग्न खोजेका थिए ।
नक्कली नोटलाई तल र माथि राखेर पैसाको गड्डी जस्तो देखाउन बीचमा हजारको नोट आकारका कागज र बिस्कुट राखिएको देख्दा प्रहरी समेत चकित परेका छन् । प्रहरीले झण्डै ४ घण्टा लगाएर नक्कली नोट गन्नेसहित मुचुल्का उठाउने काम गरेको थियो ।
दुवै जनालाई अहिले हरिवन प्रहरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
यि नक्कली नोट कहाँ बनाएर, कहाँ लगिँदै थियो भन्ने विषयमा विस्तृत अनुसन्धान हुने प्रहरीले जनाएको छ ।