logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बलरामा एक महिलाको हत्या, सासु प्रहरीको नियन्त्रणमा, श्रीमान र ससुरा फरार


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

बलरा – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ ।

बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो । पूजादेवी आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीले मृतकको शरीरमा चोटपटक रहेको बताए पनि थप विवरण भने खुलाएको छैन् । सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले मृतक पूजादेवीकी सासु बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनापछि मृतकका श्रीमान छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक धितालले बताए ।

पूजादेवी हिजो बेलुका नै मृत अवस्थामा फेला परेकी थिईन् । मृतकको शव रातभर घटनास्थलमै राखेर आज बिहान घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको सर्लाही प्रहरीले जनाएको छ ।