logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

चिताईनमा मुसहर महिलाको सशक्तीकरणका लागि अन्तरक्रिया


  • उज्यालो अभियान

चिताईन – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा मुसहर महिला सशक्तीकरण मन्चको आयोजनामा मुसहर महिलाहरुको सशक्तीकरणका लागि सरोकारवालाको भूमिका विषयक सचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

साप–नेपाल तथा अन्डेफको आर्थिक सहयोगमा संचालित नेपालको स्थानीय सरकारमा लैंगिक उत्तरदायी तथा सुशासन प्रवद्र्धन अन्तर्गत गठित मुसहर महिला सशक्तीकरण मन्चको निरन्तरता तथा दिगो संचालनका लागि परियोजना समाप्त भएतापनि मुसहर महिलाहरुको आफ्नै आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । स्थानीय मुसहर महिला सशक्तीकरण मन्चकी अध्यक्ष उर्मिला देवी माझीको अध्यक्षता तथा हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोजकुमार चौधरीको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा पशु शाखा प्रमुख दिव्यकृष्ण श्रेष्ठ, अहेब विद्यानन्द राय, साप–नेपालका प्रतिनिधि मनोजकुमार पासवान, महिला मानव अधिकार रक्षक सन्जाल समितिकी प्रतिनिधि लक्ष्मी पासवानलगायतको उपस्थिति रहेको थियो ।

चिताईनमा मुसहर महिलाहरुले अगुवाई गरेर आफ्नो कूल देवताको मन्दिर भुइँयास्थान ढलान र बाटो ग्राभेल गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष चौधरीले मुसहर किशोरीहरुको सीप विकास तालिम र भुइँयास्थानको डेकोरेसन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साप–नेपालको सहयोगमा चिताईनका महिलाहरुले आर्थिक विकासका लागि पशुपालन अन्तर्गत पाडापाडी र बाख्रापालन गर्दै आइरहेका छन् । सो पशुहरुको पशु विकास शाखाका प्रमुख दीव्यकृष्ण श्रेष्ठ र पशु कार्यालयका कर्मचारी विद्यानन्द रायले पशु बीमा गरेका छन् ।

पशु बीमा अन्तर्गत २८ वटा बाख्रा र ९ वटा पाडापाडीको बीमा गरिएको छ ।