बागमती, १३ माघ – सर्लाहीको बागमती नगरपालिकाले विभिन्न नौ ठाउँमा आयोजना गरेको निःशुल्क आँखा परीक्षण तथा शल्यक्रिया शिविरमा दुई हजार ७९२ जनाको आँखा परीक्षण गरिएको छ ।
नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंसँग समन्वय गरी माघ ३ गतेदेखि आजसम्म आयोजना गरेको आँखा शिविरमा यति धेरै सङ्ख्यामा आँखाका बिरामीले लाभ लिएका हुन् । बसबरिया गाउँपालिका–१, मानपुर स्वास्थ्य चौकी, हरिपुर नगरपालिका–१, जानकीनगर स्वास्थ्य चौकी, बरहथवा नगरपालिका–२, हजरिया सामुदायिक भवन, आधारभूत विद्यालय चन्द्रपुर नगरपालिका–१, रौतहट, जनजागृति आधारभूत विद्यालय बागमती नगरपालिका–१२, जनज्योति आधारभूत विद्यालय बागमती नगरपालिका–४, नयाँबस्ती, जनकल्याण आधारभूत विद्यालय बागमती नगरपालिका–३, धरहरा, ६ नं. वडा कार्यालय हरिवन र जनता नमूना माध्यमिक विद्यालय बागमती–५, सोल्टीमा आँखा शिविर आयोजना गरिएको थियो ।
सबै ठाउँमा दुई हजार ७९२ जनाको आँखा परीक्षण गर्दा ५४९ जनामा मोतिया विन्दु फेला परेको बागमती नगरपालिका स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले बताए । ५४९ जना मोतिया विन्दुका बिरामीमध्ये ३८१ जनाले शिविरमा आएर मोतिया विन्दुको शल्यक्रिया समेत गरेका स्वास्थ्य संयोजक रायमाझीले बताए ।
१६८ जना मोतिया विन्दुका बिरामी सम्पर्कमा आएनन् । शिविरमा आँखाका समस्या भएका बिरामीलाई औषधि र मोतिया विन्दुको शल्यक्रिया गरेका बिरामीलाई चश्मा समेत निःशुल्क वितरण गरिएको छ ।
जनता नमूना माध्यमिक विद्यालय बागमती–५, सोल्टीमा आयोजना गरिएको मोतिया बिन्दु अप्रेसन क्याम्प शुक्रबारबाट समापन गरिएको र अब (आज) शनिबार शिविरमा आएका चिकित्सकलाई बिदाई गरेर पठाइने रायमाझीले बताए ।