logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नारायणखोलामा ५ किलोमिटर सडक ट्रयाक निर्माण


  • उज्यालो अभियान

पत्थरकाेटबाट मटरदाेभानसम्म खाेलिएकाे ट्रयाक । (तस्बिर : उज्यालाे अभियान)

लालबन्दी – सडक नपुगेको सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायणखोलामा पाँच किलोमिटर सडकको ट्रयाक खनिएको छ ।

लालबन्दी नगरपालिकाले वडा नं. १४ मा पर्ने नारायण खोलामा चुरेपहाड फोडेर पाँचकिलोमिटर सडकको ट्रयाक निर्माण गरेको हो । लखन्देही खोलाको पूर्वी किनारै किनार माइस्थानदेखि उत्तर पाँचकिलोमिटर सडकको ट्रयाक निकालिएको वडाध्यक्ष छेनामसिंह घिसिङले उज्यालो अभियानसँग बताए ।

वडाध्यक्ष घिसिङका अनुसार नयाँ बनेको ट्रयाकबाट अहिले मोटरसाइकल, जीप, ट्याक्टरसहितका साना सावरी संचालन भइरहेका छन् । बस र अन्य मालबाहक सवारी भने खोलाको बगरबाटै संचालन भइरहेका स्थानीयले बताएका छन् ।

लालबन्दी–मरिण सडकको चर्चा सुरु भएसँगै अब नारायण खोलामा सडकको ट्रयाकसँगै पक्की सडक निर्माण हुने आश स्थानीयले गरेका छन् । लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले नारायणखोलामा सडकको ट्रयाक निर्माणको कामलाई निरन्तरता दिइएको बताएका छन् ।

खोलाको बगरबाट आउजाउ गर्नुपर्ने नारायणखोलामा वर्षायाममा खोला बाढी आउँदा मानिसको आउजाउ र यातायात आवागमन नै ठप्प हुने गरेको छ । हिउँदमा पानी घटेपछि खोलाबाट आवतजावत गर्ने स्थानीय अहिले सडकको ट्रयाक निर्माण भइरहँदा उत्साहित रहेका छन् ।

वर्षायाममा यातायातका साधन नचल्दा तीन/चार घण्टासम्म पैदल हिँडेर लालबन्दी बजार आउन बाध्य स्थानीय कालोपत्रे सडक निर्माण भएपछि आफूहरुको जीवन नै फेरिने आशमा बसेका वडाध्यक्ष घिसिङले बताए ।