logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा आज पनि बाक्लो हुस्सु र र शित कायमै


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आज पनि अत्यन्त कठ्यांग्रिदो चिसो हुँदा जनजीवन प्रभावित बनिरहेको छ ।

यहाँ अन्य दिनहरुमा झैँ आज पनि बाक्लो हुस्सु लागेर शित झरिरहेकाले अत्यधिक ठिर्याउँदो चिसो भइरहेको स्थानीयले बताएका छन् । चिसो छल्न सर्वसाधारणहरु घरघरमै आगो तापेर बसिरहेका छन् ।

सर्लाहीको मौसम हिजो पनि घाम नै नलागी बित्यो । आज पनि मौसम उघ्रिन सकेन । चिसो स्याँठ र हुस्सुका कारण मानिसलाई घरबाहिर निस्कन समेत मुस्किल परेको छ ।

सर्वसाधारणहरु चिसो छल्न घर, चोक, बजारमा आगो बालेर तापिरहेका छन् । यो वर्ष पुस अन्तिम र माघ लागेपछि चिसो अत्यधिक बढेको हो ।

यो चिसोमा न्यानो कपडा नभएका, घुर ताप्नुपर्ने बाध्यता र पराल ओछ्याएर सुत्नुपर्ने मुसहर सहित अति विपन्न वर्गलाई असाध्य गाह्रो परेको छ । उनीहरु चिसोमा थरथर कामेरै बस्न बाध्य छन् ।

स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले यो वर्ष चिसो प्रभावितलाई न्यानो प्रदान गर्ने कुनै काम गरेका छैनन् ।