logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रातदिन ठिर्याउँदो चिसो, अहिले साँझबाट बाक्लो मात्रामा हुस्सु


  • उज्यालो अभियान

तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान

मलंगवा – सर्लाहीमा केही दिनदेखि रातदिन ठिर्याउँदो चिसो हुँदा जनजीवन प्रभावित बनिरहेको छ ।

दिउँसोपख केही घन्टा मौसम उघ्रिए जस्तो भएपनि ठिर्याउँदो चिसो हराउन सकेको छैन् । यहाँ आज दिउँसोपख उत्तरी भेगको मौसम केहीबेर उघ्रिएर मधुरो घाम लाग्यो । तर ठिर्याउँदो चिसो हटेन । अहिले साँझबाट बिहानको झैँ बाक्लो हुस्सु लाग्न थालेर अझ बढी कठ्यांग्रिदो चिसो हुन थालेको छ ।

निरन्तरको ठिर्याउँदो जाडोले मानिस, पशुचौपाय, पन्छी सबै प्रभावित बनिरहेका छन् । पारिलोसँग घाम लाग्न नसक्दा मानिसहरुलाई घरबाहिर निस्कनै गाह्रो परिरहेको छ । किसान र मजदुरले लगलग कामेरै मजदुरी गरिरहेका छन् ।

चिसो छल्न मानिसहरु घर, चोक, बजारमा आगो बालेर ताप्ने गरेका छन् । शिशु, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्ति चिसोबाट ज्यादा प्रभावित बनेका छन् ।

तराई क्षेत्रमा पुस मध्यसम्म चिसो कम नै थियो । पुस अन्तिम र माघ लागेपछि भने असाध्य ठिर्याउँदो चिसो भइरहेको हो ।

यसैबीच, बिहीबार बिहान राजधानी काठमाडौँमा सबैभन्दा चिसो महसुस भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको तापक्रम ३ डिग्री सेन्टिग्रेडमा झरेको थियो । यो तापक्रम यो वर्षको सबैभन्दा कम हो ।