logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा आज दिनभर नै अत्यधिक कठ्यांग्रिदो चिसो, जनजीवन कष्टकर


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आज दिनभर नै अत्यन्त कठ्यांग्रिदो चिसो हुँदा जनजीवन असाध्य प्रभावित बनेको छ ।

अहिले साँझमा पनि चिसो स्याँठ चलेर बाक्लो हुस्सु लागिरहँदा अत्यधिक ठिर्याउँदो चिसो भइरहेको स्थानीयले बताएका छन् । सर्लाहीको मौसम आज घाम नै नलागी बित्यो ।

उत्तरी चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा दिउँसोपख केहीबेर घाम लागेको थियो । दक्षिणी भेगको मौसम दिनभर नै उघ्रिन सकेन ।

अहिले साँझबाट जिल्लाभर नै स्याँठ चल्नुका साथै अझ बढी बाक्लो मात्रामा हुस्सु लागेर अत्यधिक चिसो भइरहेको स्थानीयलाई उद्रित गर्दै हाम्रा संवाददाताहरुले जनाएका छन् । चिसो स्याँठ र हुस्सुका कारण मानिसलाई घरबाहिर निस्कन समेत मुस्किल परेको छ ।

सर्वसाधारणहरु चिसो छल्न घर, चोक, बजारमा आगो बालेर तापिरहेका छन् । यो वर्ष पुस अन्तिम र माघ लागेपछि चिसो अत्यधिक बढेको हो ।

यो चिसोमा न्यानो कपडा नभएका, घुर ताप्नुपर्ने बाध्यता र पराल ओछ्याएर सुत्नुपर्ने मुसहर सहित अति विपन्न वर्गलाई असाध्य गाह्रो परेको छ । उनीहरु चिसोमा थरथर कामेरै बस्न बाध्य छन् ।

स्थानीय सरकारका रुपमा रहेका पालिकाहरुले यो वर्ष चिसो प्रभावितलाई न्यानो प्रदान गर्ने कुनै काम गरेका छैनन् ।