लालबन्दी – संघीय सरकारका खानेपानी मन्त्री महिन्द्रराय यादवले लालबन्दी–मरिण सडकका लागि यसै वर्षदेखि बजेट विनियोजन गरी काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भारतीय सीमावर्ती क्षेत्र सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित त्रिभुवननगरदेखि लालबन्दी नगरपालिकाको लालबन्दी बजार हुँदै सिन्धुलीको मरिण गाउँपालिकाबाट सुनकोशी गाउँपालिकाको दुम्जासम्म पुग्ने सडकका लागि यसै वर्षबाट बजेट छुट्याएर काम सुरु गर्ने मन्त्री यादवले बताएका हुन् । रणनीतिक महत्व बोकेको यस सडकको सम्भाव्यता अध्ययन सम्वन्धी स्थलगत भ्रमणमा सहभागी हुनुभएका मन्त्री यादवले आफूहरुकै कार्यकालमा सडक बन्नुपर्नेमा जोड दिए ।

भारतीय सीमाबाट मध्यपहाडी लोकमार्गलाई छिचोल्दै विपी राजमार्गसँग जोड्ने त्रिभुवननगर–लालबन्दी–मरिण–दुम्जा सडक आर्थिक हिसाबले निकै महत्वपूर्ण रहेको मन्त्री यादवको भनाई छ ।
त्रिभुवननगरदेखि लालबन्दी बजारसम्म २० किलोमिटर र लालबन्दी बजारदेखि पत्थरकोटसम्म १० किलोमिटर बढी सडक अहिले कालोपत्रे नै छ । पत्थरकोटदेखि नारायणखोला हुँदै मरिणसम्मको ४५.८ किलोमिटरमध्ये केही ठाउँमा ट्रयाक सडकबाट र धेरैजसो ठाउँमा खोलाको बगरबाट यातायात संचालन हुने गरेका छन् । वर्षायाममा भने यातायात ठप्प हुन्छ ।
पत्थरकोटदेखि मरिणसम्म चुरे पहाडै पहाड हुँदै पक्की सडक निर्माण गर्ने उद्देश्यले लालबन्दी नगरपालिकाले मन्त्री यादवसहित अन्य सरोकारवालालाई सहभागी गराएर स्थलगत भ्रमण गराएको नगरप्रमुख बासुदेव अधिकारीले बताए ।

सर्लाहीबाट सडकको अवलोकन गर्दै मरिण पुगेको मन्त्री यादवसहितको टोलीलाई स्वागत गर्दै सिन्धुलीका प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले काठमाडौंदेखि मरिण हुँदै भारतको सीमालाई जोड्ने अत्यन्त छोटो दुरीको यो सडक कुनै पनि हालतमा बन्नुपर्ने र त्यसका लागि दबाब सिर्जना गरिने बताए । यसले समय, इन्धन र पूँजीको बचत गर्ने जस्ता कारणले गर्दा पनि यो मुख्य रणनीतिक सडक निर्माण गर्नुपर्ने अनिवार्य नै रहेको दाहालले बताए ।
उनले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइसकेको र अब औपचारिक रुपमा पहल कद्मी अगाडि बढाइने बताए । मरिण–दुम्जा सडकमा बजेट विनियोजन भइ काम जारी नै छ ।

मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीले अब आउने बजेटमा मधेश र बागमती प्रदेशलाई जोड्ने यो सडकको विषय समेत उठाउनुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठ, जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष कार्साङ लामा, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात), सिन्धुलीको सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा, सिन्धुलीकै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा, घ्याङलेख गाउँपालिकाका उपाध्यक्ष शङ्करमान घलानलगायतले मन्तव्य राख्दै अहिले चर्चामा आएको त्रिभुवननगर–लालबन्दी–मरिण–दुम्जा सडकको परिकल्पना साकार हुनेमा विश्वास व्यक्त गरे ।

स्थलगत अनुगमनमा सहभागी भएका सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रमुख दीपेन्द्र पाण्डेले छोटो दुरी पर्ने र वातावरणीय हिसाबले पनि यो सडक बन्दा धेरै क्षति नहुने बताए । उनले यस सम्वन्धमा प्रस्ताव तयार पारेर सडक विभागमा पठाउने काम चाँडै नै गर्ने बताए ।

सोमबार बिहान सर्लाहीको सीमावर्ती गाउँ त्रिभुवननगरदेखि सडकको स्थलगत भ्रमणमा निस्किएको मन्त्री यादवसहितको टोली राति सिन्धुलीको दुम्जामा बास बसेर मंगलबार बहान सर्लाही आइपुग्यो । लालबन्दी आएपछि मंगलबार दिउँसो नगरपालिकाको पुरानो कार्यालय रहेको भवनमा समिक्षात्मक छलफल समेत गरिएको नगरपालिका कार्यालयले जनायो ।