पर्सा – सर्लाहीको पर्सा गाउँपालिकाका किशोरकिशोरी र जनप्रतिनिधिलाई बाल संरक्षण तथा घटना व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
लालबन्दीमा आयोजित दुई दिने तालिमको बुधबार समापन गरिएको हो । बागमती सेवा समाज नेपालले वल्र्ड भिजन इन्टरनेशनलको सहयोग तथा पर्सा गाउँपालिकाको सहकार्यमा किशोरकिशोरी र जनप्रतिनिधिलाई यस प्रकारको तालिम प्रदान गरिएको जनाएको छ ।
तालिमको वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड संयोजक कृपराज जोशीले सहजीकरण गरे । सहभागीलाई क्रियाशील बाल अधिकार समितिका सूचक, घटना अध्ययन, जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको उद्धार, कानूनी उपचारलगायत घटनाबारे अभिमुखीकरण प्रदान गरिएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए । उनका अनुसार सहभागीलाई बाल संरक्षण तथा घटना व्यवस्थापनका सम्वन्धमा अभ्यास समेत गराइएको छ ।
बाल अधिकार, बाल संरक्षण प्रणाली, घटना व्यवस्थापन र सिफारिस संयन्त्रका विषयमा सहभागीलाई आधारभूत ज्ञान प्रदान गरी समुदायमा आधारित बाल संरक्षणको सवलीकरण गर्न बाल अधिकार समितिका पदाधिकार र बाल संरक्षणका पात्रहरु क्रियाशील हुने उद्देश्यले तालिम आयोजना गरिएको बताइएको छ ।
वल्र्ड भिजनकी प्रतिनिधि सीता चौधरीले बालबालिकासँग जोडिएका घटनाका सम्वन्धमा तालिममा सिके अनुसार व्यवस्थापन गर्न सहभागीसँग आग्रह गरिन् । पर्सा गाउँपालिका–५ का वडाध्यक्ष अनिल कुमार यादवले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरे ।
पर्सा गाउँपालिकाको बाल समृद्धिको लागि परिकल्पना : बालविवाह, लागूपदार्थ, बालश्रम, हिंसा, छुवाछुत, कुपोषणमुक्त समाज, स्वस्थ बालबालिका, गुणस्तरीय शिक्षा, समुन्नत विकसित भन्ने मूल आधार रहेको छ ।