लालबन्दी – हिजो दिनभर पारिलो घाम लागेको सर्लाहीमा आज भने फेरि बाक्लो हुस्सु र शितलहर चलेर अत्यन्त कठ्यांग्रिदो चिसो छ ।
यहाँ बाहिर निस्कन समेत मुस्किल पर्ने गरी बाक्लो हुस्सु लागिरहेको हो । शित नै भिज्ने अवस्था छन् । जसका कारण स्थानीयले अत्यधिक चिसो महशुस गरेका छन् ।
धेरै दिनपछि हिजो दिनभर पारिलो घाम लाग्दा यहाँका स्थानीयले राहत महशुस गरेका थिए । तर फेरि आज बिहानैबाट जनजीवन प्रभावित हुने गरी जाडो बढेर मौसम प्रतिकूल बनेको हो ।
हिजो मौसम उघ्रिएपछि लालबन्दीसहितका पालिकाले आजबाट विद्यालय संचालन गर्ने गरी हिजै सूचना जारी गरिसकेका छन् ।
यस वर्ष पुसको अन्तिमतिर र माघ लागेपछि भने चिसो अत्यधिक बढेको हो । अत्यधिक बाक्लो हुस्सु र शितलहर चलिरहँदा आज बिहान ७ बजे सर्लाहीको तापक्रम ८ डिग्री सेल्सीयस मापन भएको छ ।
चिसोले गरिब, अतिविपन्न र पिछडिएको मुसहरसहितका समुदाय प्रभावित बनेका छन् । चिसो छल्न मानिसहरु घर तथा चोक, बजारमा आगो बालेर तापिरहेका छन् ।