लालबन्दी – सर्लाहीमा आज अत्यधिक बाक्लो मात्रामा हुस्सु लागेर शितलहर चलिरहेको छ ।
हुस्सु धेरै लागेकाले ५० मिटर अगाडिको दृश्य समेत प्रष्टसँग देखिएको छैन् । सवारी साधनहरु दिउँसै बत्ती बालेर कम गतिमा गुडिरहेका छन् । हुस्सुका कारण सवारी आवागमन नै प्रभावित बनेको हो ।
शितहर चलेकाले बाहिर केहीबेर हिँड्डुल गर्दा शितले भिज्ने अवस्था छ । बाक्लो हुस्सु र शितलहरले जाडो अत्यधिक बढाउँदा जनजीवन कष्टकर बनेको छ ।
यहाँ अन्य दिनको तुलनामा आज अत्यधिक चिसो महशुस भएको स्थानीयले बताएका छन् । हिजो बिहान ७ बजे सर्लाहीको तापक्रम १२ डिग्री सेल्सीयस थियो । आज बिहानको तापक्रम ९ डिग्री सेल्सीयस मापन गरियो ।
चिसोले अतिविपन्न, गरिब, मजदुर र पिछडिएको मुसहर, डोम, चमारसहितका दलित परिवार अत्यन्त प्रभावित बनेका छन् । जाडो धेरै नै बढ्दा शिशु, बालबालिका, वृद्धवृद्धार अशक्त व्यक्तिको ख्याल गर्न मुस्किल परिरहेको छ । चिकित्सकले बाक्लो हुस्सु र शितलहर जारी रहेको समयमा घरभित्रै बस्न, न्याना कपडा लगाउन र पौष्टिकयुक्त खानेकुरा खान सुझाव दिँदै आएका छन् ।
चिसोले पशुचौपाय र पन्छी बचाउन गाह्रो पर्न थालेको किसानले बताएका छन् । हुस्सु र शितलहरले आलु, गोलभेँडा, सिमीलगायतका तरकारी बालीमा ठण्डीको प्रकोप देखिन थालेको छ ।