प्रदर्शनीको निरीक्षण गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसाल र अन्य अतिथि । (तस्बीर : जनार्जन/उज्यालो अभियान)
हरिवन – कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अन्नको भण्डार मधेश क्षेत्र मरुभूमी बन्ने सङ्केत देखिएको बताएका छन् ।
सर्लाहीको हरिवनमा दोस्रो डेरि, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको शुक्रबार दिउँसो उद्घाटन गर्दै उनले चुरेको फेदीबाट नदी र खोलालाई जोडेर नहर नबनाउने हो भने केही वर्षमा यो क्षेत्र मरुभूमी बन्ने बताएका हुन् । “सबैभन्दा पहिले मधेश नै मरुभूमी बन्छ भन्ने कुरा गत सालको खडेरीले स्थापित गरिसकेको छ,” कृषि मन्त्री भुसालले भने, “ गत वर्ष नै कृषि मन्त्रालयबाट मधेशलाई सुख्खा क्षेत्र घोषणा गर्ने भनी मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेका थियौँ तर संयोगले भोलीपल्ट पानी पर्यो ।”
गत वर्ष खडेरीका कारण बेलैमा रोपाइँ गर्न नपाएको र खानेपानीका मुहान सुकेको कुराबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा मन्त्री भुसालले जोड दिए । उनले सुनकोशी–मरिण डाइभर्सनले केही हजार हेक्टर जग्गामा सिँचाई पुर्याउने आश गरिए पनि यहाँका लाखौँ हेक्टर जग्गा सिँचाई अभावमा बाँझो बसिरहने अवस्था रहेको उल्लेख गरेका छन् ।
मन्त्री भुसालले देशभर १४ लाख ७७ हजार हेक्टर जग्गामा धान खेती गरेकोमध्ये पूर्व–पश्चिम तराईमा मात्रै ६८ प्रतिसत धान खेती हुने गरेको भएपनि यहाँ जम्माजम्मी १७ प्रतिसत भूमीमा मात्रै सिँचाई सुविधा रहेको बताए । यही अवस्थामा कृषि उत्पादन वृद्धि गर्न नसकिने भन्दै मन्त्री भुसालले सर्वप्रथम सिँचाईको गुरुयोजना बनाउन जरुरी रहेको बताए ।
उनले परम्परागत ढङ्गले खेती गर्दा जुन लागत लाग्छ, त्यस अनुसार मूल्य पाउन मुस्किल परिरहेको भन्दै आधुनिक औजार र प्रविधिको प्रयोग गरेर खेती गर्नुपर्नेमा जोड दिनुभयो । प्रदर्शनीको उद्घाटन समारोहमा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले किसानले फलाएको नगदे बाली, दुध र अन्य कृषि उपजले बजार नपाइरहेको गुनासो व्यापक बढेकाले यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले समन्वय गरी काम गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले मन्तव्य राख्दै सिँचाई अभाव, किसान हुँ भन्न लाज मान्नेजस्ता कारणले एकातर्फ खेतबारी बाँझै बस्ने र अर्कोतर्फ रोजगारी नै पाइएन भन्ने गुनासो रहेकाले यसको समाधानका लागि लाग्नुपर्ने तर्क गरेका छन् ।
हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको संचालन, हरिवन ११ का वडाध्यक्ष शेष महबुब रेजाले स्वागत गरेको कार्यक्रममा हरिवन ४ का वडाध्यक्ष केशवराज थापाले प्रदर्शनीको उद्देश्यबारे प्रष्ट्याएका थिए ।
हरिवन नगरपालिकाले मधेश प्रदेशका कृषि र पशुपंक्षीको क्षेत्रमा क्रियाशील विभिन्न कार्यालय, निकाय र सङ्घसंस्थासँग समन्वय गरी वडा नं. ११ स्थित सूर्ति विकास खेल मैदानमा आयोजना गरेको प्रदर्शनीमा विभिन्न बाली, तरकारी, पशु, मौरी, कृषि औजारलगायतका ६० वटा स्टल राखिएको छ ।
प्रदर्शनी भोली आइतबारसम्म चल्ने हरिवन नगरपालिकाले जनाएको छ ।