logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा आजबाट कृषि प्रदर्शनी, उद्घाटन गर्न कृषि मन्त्री भुसाल सर्लाही आइपुगे


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आजबाट दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु हुँदैछ ।

‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नारासहित हरिवन नगरपालिका–११, स्थित सुर्ती विकास खेल मैदानमा हरिवन नगरपालिकाले प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीको उद्घाटन गर्न सङ्घीय सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसाल हिजै सर्लाही आइसकेका छन् ।

प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको प्रचारप्रसार समितिका संयोजक एवं हरिवन नगरपालिका–८, का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिए । प्रदर्शनीमा विभिन्न कृषि उपज र दुग्धजन्य पदार्थका स्टल राखिएको छ ।

आज मध्यान्ह उद्घाटन हुने प्रदर्शनीमा उत्कृष्ट किसानलाई सम्मानसहित बैङ्क तथा वित्तीय संस्थाबिच अन्तक्र्रिया, पशु उपचार, गोबर परीक्षण, माटो परीक्षण र स्थानीय कलाकारबाट कला सँस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम गरिने प्रदर्शनी मुल आयोजक समितिका संयोजक एवं हरिवन वडा नं. ४ का वडाध्यक्ष केशवराज थापाले बताए ।

प्रदर्शनीमा किसानलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ । प्रदर्शनी आयोजना गर्न प्रदेश दुग्ध विकास बोर्ड, कृषि अनुसन्धान निर्देशनालय परवानिपुर बारा, कृषि ज्ञान केन्द्र मलङ्गवा, हेल्भेटास नेपाल, इन्दुशङ्कर चिनी उद्योग र हेफर इन्टरनेशनलले समेत सहयोग गरेका छन् ।

प्रदर्शनी पर्सीसम्म चल्ने छ ।