logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जानकीनगरमा ३२४ जनाको निःशुल्क आँखा परीक्षण, ५४ जनामा मोतिया विन्दु


  • उज्यालो अभियान

जानकीनगर – सर्लाहीको हरिपुर नगरपालिका १ स्थित जानकीनगर स्वास्थ्य चौकीमा आज आयोजित एक दिने निःशुल्क आँखा परीक्षण शिविरमा ३२४ जनाले सेवा लिएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोग र बागमती नगरपालिकाको सहकार्यमा भएको आँखा शिविरमा १९९ जना महिला र १२५ जना पुरुष गरी ३२४ जनाको निःशुल्क आँखा जाँच गरिएको हो ।

तीमध्ये ५४ जनामा मोतिया विन्दु फेला परेको छ । मोतिया विन्दुका बिरामीलाई माघ १० देखि १२ गतेसम्म बागमतीको सोल्टीमा हुने मोतिया विन्दु अप्रेसन क्याम्पमा लगेर निःशुल्क अप्रेसनको समेत प्रवन्ध मिलाइएको हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए ।

यस्तै प्रकारको आँखा शिविर हिजो बसबरिया गाउँपालिका १ मानपुर स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो । त्यहाँ ३२१ जनाको आँखा परीक्षण गर्दा ७७ जनामा मोतिया विन्दु फेला परेको थियो ।

माघ ५ गते सामुदायिक भवन बरहथवा २ हजरिया, माघ ६ गते आधारभूत विद्यालय चन्द्रपुर १ रौतहट, माघ ७ गते आधारभूत विद्यालय बागमती नगरपालिका १२, माघ ८ गते जनज्योति आधारभूत विद्यालय बागमती ४ नयाँबस्ती, माघ ९ गते जनकल्याण आधारभूत विद्यालय बागमती ३ धरहरा र माघ १० गते हरिवन ६ को वडा कार्यालय घुर्कौलीमा आँखा जाँच शिविर राखिएको छ ।

यि सबै ठाउँमा फेला परेका मोतिया विन्दुका बिरामीको माघ १० गतेदेखि १२ गतेसम्म जनता माध्यमिक विद्यालय बागमती ५ सोल्टी बजारमा निःशुल्क अप्रेसन गरिने बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले बताए ।