logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषि प्रदर्शनीको तीव्र तयारी


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा पर्सी शुक्रबारबाट सुरु हुने दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको तयारी तीव्र पारिएको छ ।

‘मधेश प्रदेशको शान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नारासहित हरिवन नगरपालिका–११, स्थित सुर्ती विकास खेल मैदानमा हरिवन नगरपालिकाले आयोजना गर्न लागेको प्रदर्शनीको तयारी तीव्र पारिएको हो । प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको प्रचारप्रसार समितिका संयोजक एवं हरिवन नगरपालिका–८, का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिए ।

हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाका अनुसार प्रदर्शनीस्थल सूर्ति विकास खेल मैदानमा प्रदर्शनीका लागि आवश्यक पर्ने संरचना तथा स्टल निर्माणको काम धमाधम भइरहेको छ । प्रदर्शनीको तयारी स्वरुप भोली नगरको रिंगरोडभित्र मोटरसाइकल र्याली निकाल्ने तयारी गरिएको छ ।

हरिवन ९ को विष्णुपुरबाट दनुवारी, पुरानो बजार, पटौना, तित्री गाँछी, पाकड गाँछी, गणेश चोक, घुर्कौली, ताइवान हुँदै सुखेपोखरी क्याम्पस निस्कने कार्यक्रम तयारी गरिएको छ ।

प्रदर्शनीको शुक्रबार मध्यान्ह सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुषालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रदर्शनीमा विभिन्न कृषि उपज र दुग्धजन्य पदार्थका स्टल राख्ने तयारी रहेको छ ।

प्रदर्शनीमा उत्कृष्ट किसानलाई सम्मानसहित बैङ्क तथा वित्तीय संस्थाबिच अन्तक्र्रिया, पशु उपचार, गोबर परीक्षण, माटो परीक्षण र स्थानीय कलाकारबाट कला सँस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम गरिने प्रदर्शनी मुल आयोजक समितिका संयोजक एवं वडा नं. ४ का वडाध्यक्ष केशवराज थापाले बताए । प्रदर्शनीमा किसानलाई निःशुल्क स्टल उपलब्ध गराइएको छ ।

प्रदर्शनीका लागि करिव २६ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको आर्थिक समितिका संयोजक एवं वडा नं. ३ का वडाध्यक्ष दीपमान लोप्चनले बताए । उनका अनुसार प्रदर्शनी आयोजना गर्न प्रदेश दुग्ध विकास बोर्ड, कृषि अनुसन्धान निर्देशनालय परवानिपुर बारा, कृषि ज्ञान केन्द्र मलङ्गवा, हेल्भेटास नेपाल, इन्दुशङ्कर चिनी उद्योग र हेफर इन्टरनेशनलले समेत सहयोग गरेका छन् ।