मलंगवा – सर्लाहीको ईश्वरपुर, मलंगवा र लालबन्दी नगरपालिकाले विद्यालयमा जाडो बिदा लम्ब्याएका छन् ।
केही दिनदेखि चिसो थप बढेकाले पठनपाठन सूचारु गर्दा समस्या हुने भएपछि तीनवटै नगरपालिकाले आज सूचारु जारी गरी जाडो बिदा थप गरिएको उल्लेख गरेका हुन् । लालबन्दी नगरपालिकाले पुस २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिएको थियो । तर मौसम थप प्रतिकुल बनेपछि नगरपालिकाले आजबाट माघ ४ गतेसम्म जाडो बिदा थप गर्ने निर्णय गरेको हो ।
यस्तै, ईश्वरपुर नगरपालिकाले अत्यधिक जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गरी माघ ७ गतेदेखि पूर्ववत् समयमा विद्यालय संचालन हुने गरी जाडो बिदा दिएको छ । शिक्षा शाखाका प्रमुख एवं उप–सचिव हरिप्रसाद दाहालले आज सूचना जारी गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० मा सहभागी हुने विद्यालयहरुलाई खेल समय, तालिका निर्धारण गरी बालबालिकाको स्वास्थ्यमा जाडोका कारण असर नपर्ने गरी अभ्यास गराउन अनुरोध गरेका छन् ।
त्यसैगरी, मलंगवा नगरपालिकाले पनि आज सूचना जारी गरी जाडो बिदा लम्ब्याएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामपुकार यादवले सूचना जारी गरी माघ ७ गतेदेखि पूर्ववत् झैँ विद्यालय संचालन हुने जानकारी गराएका छन् ।
चिसोले जनजीवन प्रभावित भएपछि यहाँका अधिकांश पालिकाले विद्यालय बन्द गराएका छन् । एक सातादेखि घाम नलाग्दा सर्लाहीसहित तराई क्षेत्रको जनजीवन नराम्ररी प्रभावित बनेको छ ।
नरन्तर हुस्सु लागेर चिसो स्याँठ र तुसारो जारी रहँदा जनजीवन कष्टकर बनेको हो ।